विराटनगर, श्रावण ५ , लायन्स क्लब अफ विराटनगर इनभिजनको आयोजनामा आज श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा बनस्कण्डी महादेव मन्दिर परिसरमा “पानी, जुस तथा फलफूल वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
सात बजेदेखि सुरु भएको कार्यक्रममा मन्दिरमा दर्शन गर्न आएका सयौं भक्तजनहरूलाई स्वच्छ पानी, ताजा जुस र मौसमी फलफूल वितरण गरिएको थियो।
उक्त सेवामूलक कार्यक्रममा क्लबका पदाधिकारीहरू, सदस्यहरू तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। श्रावण महिनाभर शिव भक्तहरूको अत्यधिक भीड रहने भएकाले भक्तजनको सेवा गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ विराटनगरले जानकारी दिएको छ।
क्लबले आगामी दिनहरूमा पनि सामाजिक कार्यमार्फत समुदायप्रति उत्तरदायित्व निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएको छ।