इन्दु साह
विराटनगर । केहिदिन अगाडि मात्र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस हातभित्रको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षमा हातहतियार फेला परेको थियो । सभापतिको कार्यकक्षमा रहेको दराजमा खुकुरी फेला परेपछि त्यसलाई प्रहरीले बरामद गरेर फर्केको थियो । क्याम्पस परिसरमै खुकुरी बरामद भएपनि घटनाको अनुसन्धान भने भएन ।

तर, क्याम्पस परिसरलाई शान्त राख्न र शैक्षिक तथा प्राज्ञिक हाताभित्र अनुशासन पालना गराउन अहिले विद्यार्थीमाथिको निगरानी भने बढाइएको छ । क्याम्पस प्रमुख डा. रामअवतार शरण अनुसार विद्यार्थीहरूले अब अनिवार्य रूपमा पोशाक र परिचयपत्र लगाउनुपर्नेछ। साथै, क्याम्पसमा शिक्षक र विद्यार्थी बाहेकका अन्य व्यक्तिहरूले अनुमति लिएर मात्र प्रवेश पाउने छन् । प्रवेश गर्ने व्यक्तिले क्याम्पसमा किन र कसलाई भेट्न आएको हो भन्ने विवरण टिपाउनु पर्ने व्यवस्था गरिएको छ ।

क्याम्पस भित्र बाहिरका मानिसको प्रभाव देखिएकोले यस्तो व्यवस्था मिलाईएको स्ववियू सभापति रोहित यादवको भनाई छ । उनले केहिदिन पहिले क्याम्पसमा भएको विवादमा वाहिरका मानिसको उपस्थिति रहेको थियो । बाहिरका व्यक्तिहरु खुलेआम भित्र आउँदा शैक्षिक क्षेत्र असुरक्षित हुनसक्ने जोखिम देखिएको उनको तर्कछ । उनले क्याम्पसमा थप सुरक्षा गार्डको आवश्यक्ता रहेको महसुस भएको समेत बताए ।

क्याम्पस प्रमुख शरणका अनुसार यस क्याम्पसमा परीक्षा लेख्ने ८ देखि १० हजार विद्यार्थी छन् । तर, नियमित कक्षामा उपस्थित हुने विद्यार्थी अनुमानित चार हजार आसपास रहेका छन् । विद्यार्थी संख्या धेरै हुँदा सानातिना विवाद सिर्जना हुनु स्वभाविक भएपनि शैक्षिक वातावरणमा खलल नपुगेको उनले बताए । अब देखि कडाईका साथ नियमहरु लागु गर्ने र वातावरणमा अझै सुधार गर्ने योजना उनले सुनाए ।
क्याम्पस प्रमुख र स्ववियु सभापतिका अनुसार हातहतियार फेला परेपछि स्ववियु परिसरमा सिसीटिभी क्यमरा जडान गर्ने तयारी गरिएको छ । स्ववियु परिसरमा भेटिएका हतियार अहिलेका नभई यस अगाडीकै भएको हुनसक्ने अनुमान गरिएको छ । किनकी क्याम्पस इकाइ कमिटि गठन गर्न पुगेका नेबिसंघका जिल्ला अध्यक्ष सरोज पोखरेललाई खुकुरीसहित आक्रमण गरेको भिडियो यस अगाडी सार्वजानिक भएको थियो ।