विराटनगरमा छ, प्रदेश जनस्वास्थ्य प्रयोगशाला : निःशुल्कदेखि सुलभ शुल्कमा हुन्छ परीक्षण

<span class='c1'>विराटनगरमा छ, प्रदेश जनस्वास्थ्य प्रयोगशाला :</span> <span class='c2'>निःशुल्कदेखि सुलभ शुल्कमा हुन्छ परीक्षण</span>

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ ।
जिल्ला अस्पताल तथा नगर अस्पतालसँगमा संकलन भएका नमूना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो ।

२०८२ बैशाख २१ गते पहिलो नमूना प्रयोगशालामा आएको थियो । त्यसयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कुरियरमार्फत आएका एक हजार ३०० नमूनाको परीक्षण भएको छ । नमूना परीक्षणपछि सेवाग्राहीलाई त्यसको रिपोर्ट मोवाइल नम्बर, क्यूआर र युजरआइडीबाट हेर्न मिल्ने सुविधा रहेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत रेवती ढुंगानाका अनुसार गत आर्थिक वर्ष २०८१÷२०८२ मा २२ हजार ३९१ जना सेवाग्राहीको नमूना संकलन र परीक्षण गरिएको छ ।

जसमा इन्डोक्राइनोलोजी अन्तर्गत ५७ वटा नमूना १० हजार ४००, माइक्रोबायोलोजी अन्तर्गत १५ नमूनाको एक हजार १००, हेमाटोलोजी अन्तर्गत ३७ वटा नमूना १५ हजार ४००, बायोकेमिस्ट्री अन्तर्गत ५८ नमूनाको ४० हजार ३०० र मोलीक्युलर टेस्ट अन्तर्गत चार प्रकारका नमूना दुईहजार ३०० छन् । जम्मा नमूना ८३ हजार ५०० वटा संकलन र परीक्षण गरिएको तथ्यांक छ ।
विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस प्राङ्गण (पुरानो हवाइ फिल्ड) मा जनस्वास्थ्य प्रयोगशालाको संरचना स्थापना गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷२०८१ मा १२ हजार ५१० जना सेवाग्राहीको ५८ हजार ५०२ नमूना परीक्षण गरिएको थियो ।
प्रयोगशालाबाट इण्डोक्राइनोलोजी, माइक्रोबाइलोजी, पारासिटोलोजी, हेमाटोलोजी, इम्यूनोलोजी, भाइरोलोजी, बायोकेमेस्ट्रि, मोलीक्यूलर, हिस्टोसाइकोप्याथोलोजी र इन्फ्लुएन्जासँग सम्बन्धित परीक्षणहरु हुँदै आएका छन् ।

प्रयोगशाला अधिकृत ढुंगानाका अनुसार कडा रोग लागेका नागरिक र ज्येष्ठ नागरिकले कुनैपनि किसिमको परीक्षण गराउँदा ९० प्रतिशत छुट दिइने गरिएको छ । प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेका बिरामी गर्नुपर्ने नियमित परीक्षण, मृगौला प्रत्यारोपण गरेका बिरामीको तोकिएको अवधी (तीन महिनाको एक पटक) र अन्य समयमा गर्नुपर्ने परीक्षण, क्यान्सर थाल्सेमिया, हेमोफिलिया, सिक्कलसेल, ऐनेमिया र एच.आई.भी संक्रमित व्यक्तिहरुलाई लाग्ने शुल्कमा ९० प्रतिशत छुट दिइएको छ ।

यसैगरी शहीद परिवार एवं विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, अति विपन्न तथा द्धन्द्ध प्रभावित, हिंसामा परेका नागरिक, ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकले परीक्षणमा ९० प्रतिशत छुटमा सेवा लिदै आएका छन् । यसैगरी कोशी प्रदेश सरकार अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारी र निजको परिवारका साथै त्रि.वि.वि. अन्तर्गत स्नाकोत्तर क्याम्पस विराटनगरका कर्मचारीहरुलाई लाग्ने शुल्कमा ५० प्रतिशत छुट सुविधा रहेको छ । कोशि प्रदेशका अन्य बिद्यार्थी तथा खेलाडीहरुलाई पनि ५० प्रतिशत छुटमा ल्याव परीक्षण हुँदै आएको छ ।
एकवर्षको अवधीमा सेवा लिनेका लागि ६१ लख ३४ हजार ७३५ छुट दिइएको छ । यस बाहेक सेवा शुल्क वापत प्रदेश सरकारको सञ्चित कोषमा १ करोड ६२ लाख ४२ हजार ३६२ रुपिँया राजस्व वापत जम्मा भएको ढुंगानाले जानकारी दिनुभयो ।

जनस्वास्थ्य प्रयोगशालाबाट डेंगु, मलेरिया, कालाजर, एचआईभी, टिबी रोगसँग सम्बन्धित परीक्षण निःशुल्क हुने गरेको छ ।
आर्थिक वर्ष २०७९÷२०८० मा ३७ हजार ३४७ वटा परीक्षणमा ६ हजार ५५० जना सेवाग्राहीले लाभ लिएका थिए ।
प्रयोगशालामा मुख्यतया ४ वटा शाखा छन् । सर्ने रोग प्रयोगशाला शाखा, नसर्ने रोग प्रयोगशाला शाखा, गुणस्तर नियन्त्रण तथा तालिम शाखा र आर्थिक तथा प्रशासन शाखा छन् ।

विदेश पठाउनु पर्ने बाध्यता हट्यो
जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंसँग नमूना प्रेषण तथा परीक्षणका लागि सम्झौता गरेको छ । यसले विदेश पठाउनुपर्ने नमुनाहरु स्वदेशमै परीक्षण हुन थालेको छ । प्रदेशभरीबाट उपलब्ध भएका नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने भएमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पठाउँदै आएको छ । यसका लागि जिल्ला अस्पताल तथा नगर अस्पतालबाट प्रदेशमा र प्रदेशबाट राष्ट्रिय प्रयोगशालामा पठाउन पनि कुरियर सेवामार्फत ढुवानी हुने गरेको छ । जसका लागि एकिकृत सञ्जालीकरण गरिएको अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझैपनि आम नागरिकले प्रयोगशाला रहेको जानकारी भने पाइसकेका छैनन् । जसका कारण विहान ७ बजदेखि साँझ ५ बजेसम्मको सेवालाई विस्तार गरेर २४ घण्टा दिनेस्तरमा पुगिसकेको छैन । अधिकृत ढुंगानाका अनुसार यसलाई आइएसओ सर्टिफाइड गर्ने प्रक्रिया समेत थालिएको छ । आधुनिक प्रविधिसहितको प्रयोगशाला रहेका कारण नागरिकलाई जतिसक्दो सुलभ सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । पछिल्लो समय भने निजी अस्पतालमा चिकित्सकसँग स्वास्थ्य जाँच गराएर प्रयोगशाला परीक्षण गराउने विराटनगरका सेवाग्राही समेत जोडिन थालेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्