विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग संगठन मोरङमा बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी लगानीका लागि अनुरोध गरेको हो ।
मधेश प्रदेशको सप्तरी जिल्लास्थित बसबिट्टीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रशस्त जग्गा उपलब्ध रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । यो औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग स्थापना गर्दा बिद्युत, पानी, जग्गा उपलब्ध गराउन सकिने भन्दै उद्योगीहरुलाई आश्वस्त पारिएको थियो ।
अध्यक्ष पन्तले मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकसित गरिएको र न्यूनतम ५ रोपनीदेखि ८ रोपनीसम्मका प्लटहरु उपलब्ध हुने बताउँदै लगानी गर्न आग्रह गरेका छने । उद्योग स्थापना गर्ने उद्योगीलाई ४० वर्षको लिज सम्झौता गर्न सकिने जानकारी दिइइको छ ।
हाल यो क्षेत्रमा १२ वटा उद्योगहरु सञ्चालन रहेको बताउँदै परियोजना धितो राखेर बैंक कर्जा उपलब्ध हुने बताए । उद्योगीले एक रोपनी जग्गाको प्रतिवर्ष १३ हजार ८९१ रुपिँया ५० पैसा भाडा बुझाउन पाउने सहुलियत तय गरिएको जानकारी दिइएको छ ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा, भवन वहाल लिन ईच्छुक उद्योगी व्यवसायीहरुले श्रावण २१ गतेसम्म प्रस्ताव पेश गर्ने अवधी रहेको जानकारी दिएका छन् । उद्योग स्थापनापछि कुनै कारण सञ्चालन हुन नसकेको अवस्थामा अर्को उद्योगमा स्वामित्व हस्तान्तरण गर्न समेत सहजीकरण गर्ने बताए । त्यस बेला उद्योग स्थापना गर्दाको लागत भन्दा कम मूल्यांकन नहुने दावी समेत गरिएको छ ।
आर्थिक वर्ष २०६७÷०६८ मा दुई वर्षका लागि निःशुल्क भवन तथा जग्गा उपलब्ध गराउने स्किम ल्याएर यस क्षेत्रलाई केहि चलायमान बनाउने प्रयास सुरु गरिएको थियो । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका मनिस मिश्रले अहिले पनि उद्योग स्थापना गर्न चाहने उद्योगीहरुले माग गरे अनुसारको सेवा र सुविधा उपलब्ध गराउने दावी गरे । पानी, बिद्युत र सुरक्षाको ग्यारेन्टीसहितको प्रवन्ध मिलाउने उनकोे भनाई थियो ।
औद्योगिक क्षेत्रमा अहिले २४ घण्टा बिद्युत आपूर्ति, सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरीको बिट स्थापना, ढल निकास गरिएको बताइएको थियो । यसैगरी उत्पादन भएको वस्तु निर्यातका लागि भारतीय नाकासँग जोड्ने राजविराज–कुनौली नाका रहेको, देशका अन्य स्थानसँग सडक पहुँच रहेको मिश्रले जानकारी दिएका छन् ।
यो औद्योगिक क्षेत्र २०३६ सालमा कृषि र वन पैदावरमा आधारित हुने गरी स्थापना गर्ने घोषणा भएको थियो । तर, यसको स्थापना २०४४ सालबाट सुरु गरेर २०५१ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । २०६२ सालमा यसलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको रुपमा नामाकरण गरेर उद्योगहरु स्थापना गर्न थालिएको हो ।
अन्तरक्रिया कार्यक्रममा उद्योग संगठन मोरङका अध्ष्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले उद्योग स्थापना गर्दा पूर्वाधार विकासमा ठूलो रकम खर्च हुने गरेको बताए । उनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीका लागि सप्तरी भन्दा नजिक रहेको सुनसरीको अमडुवामा करिडोर स्थापनाको पहल गरिदिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेका थिए । गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्दा दिइने सुविधा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले पाउने हो भने लगानी अझै बढ्ने उनको भनाई थियो ।
उद्योगी राठीले उद्योगका उत्पादन भन्दा व्यापारमा आधारित अर्थतन्त्र हावी भईरहेकोले स्पष्ट नीतिगत ढाँचा, सहुलियत र आवश्यक पूर्वाधारसहितको योजनामा मात्रै आकर्षण हुने बताए ।
अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैचा, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधिहरु, संगठनका कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।