विराटनगर । विराटनगर महानगरपालिकाको अनुगमन टोलिले तीनवटा पसलबाट २५ केजी मासु बरामद गरेर नष्ट गरेको छ । विराटनगरमा माछामासु बिक्री मापदण्ड अनुसार हुनुपर्नेमा यसको विपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको गुनासोपछि अनुगमन गर्दा खसी चिन्न नसक्ने स्थितिको मासु बरामद गरेर नष्ट गरिएको हो ।
महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन भएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५÷५ किलो मासु बरामद गरिएको थियो ।
यी पसलमा बिक्रीका लागि राखिएको मासु खसीको हो वा हैन भन्ने यकिन गर्न नसकिने स्थितिमा रहेको थियो । बिक्रीका लागि हुक लगाएर राखेको मासुमा खसीको राजखानी थिएन । खसी नै हो भनेर सेवाग्राहीले चिन्न आधार नभएपछि यो मासु बाख्रीको भएको आशंका गर्दै नष्ट गर्नु परेको यादवले जानकारी दिए ।
त्यस्तै विराटनगर–९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर–११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो । उनीहरुको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।
विराटनगरमा खसी भन्दै बाख्रीको मासुको बिक्री गर्ने व्यवसायी समेत भेटिन्छन् । खसीको राजखानी बाख्रीमा टाँसेर बिक्री गरिरहेको अवस्थामा यस अगाडी समेत बारम्बार यस्ता घटनाहरु भेटिएका छन् । यस पनि सेवाग्राहीले महानगरपालिकालाई दिएको सुचनाका आधारमा अनुगमन गरिएको थियो ।