विराटनगर। विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित मोरङ जिल्ला स्तरीय युवा सम्मेलन विराटनगरको राम जानकी सेवा सदनमा शनिबार सम्पन्न भएको छ। सम्मेलनले संगठनको नगर, जिल्ला र महिला युवा विभागमा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ। कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दू परिषद् कोशी प्रदेशका प्रमुख देवेन्द्र गुप्ता रहेका थिए। उनले हिन्दुत्वको संरक्षण, संस्कार र संस्कृतिको प्रवर्द्धनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित समितिलाई शुभकामना व्यक्त गरे।

सम्मेलनबाट मोरङ जिल्ला संयोजकमा आलोक साहको संयोजत्वमा २० सदस्यीय समिति चयन गरिएको छ। त्यस्तै, विराटनगर महानगर संयोजकमा सन्दीप साहको संयोजत्वमा २३ सदस्यीय नगर समिति गठन गरिएको छ। महानगरको महिला युवा विभागतर्फ कविता सहनीको संयोजत्वमा २० सदस्यीय समिति चयन गरिएको छ। सम्मेलनमा सहभागी वक्ताहरूले संगठनमा युवा सहभागिता बढ्दै गएको उल्लेख गर्दै हिन्दू एकताको सन्देश फैलाउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।