विराटनगर । विराटनगर महानगरपालिका–१८ अन्तर्गत लावघाट जाने मुख्य सडक वर्षा सुरु भएदेखि नै हिलो र फोहोरले भरिँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ। वर्षाको पानीसँगै सडक जलमग्न र चिप्लो बन्ने गरेकोले बालबालिका, वृद्धवृद्धा, विद्यालय तथा कार्यालय जानुपर्ने नागरिकहरूलाई जोखिम मोलेर हिँड्न बाध्य बनाइएको छ।


वर्षौंदेखि सडक स्तरोन्नति नहुनु र पानीको निकास व्यवस्था नहुनु स्थानीय सरकारको लापरवाहीको चरम उदाहरण भएको उनीहरूको आरोप छ। “हामी सडकमा होइन, दलदलमा हिँडिरहेका छौं,” एक स्थानीय बासिन्दाको भनाइ छ। सडकको यस्तो दयनीय अवस्थाका बाबजुद पनि जनप्रतिनिधिहरूले कुनै प्रभावकारी पहल नगरेको भन्दै उनीहरूप्रति व्यापक असन्तुष्टि जनाइएको छ।
