विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताएका छन् । कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उनले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिका थप बढेर गएको बताए ।
उनले विश्वभरका राष्ट्रहरुलाई मित्रवत अवस्थामा राख्दै सबैबिच सहकार्यको भूमिका निर्वाह गराउन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा विश्वलाई केन्द्रित भएर साझा समस्याको विषयमा छलफल गरि समाधानको उपाय खोजिने समेत चर्चा गरे ।
आज विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा संयुक्त राष्ट्रसंघको महासभाको नमुना अभ्यास कार्यक्रममा उनले कोशी प्रदेशका युवा विद्यार्थीले उठान गर्ने विषय र दिने सुझावले विश्वको ध्यान खिचोस भन्ने शुभकामना समेत दिएका थिए ।
यो सँगै विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा आजदेखि संयुक्त राष्ट्रसंघको महासभाको तीन दिने नमूना अभ्यास शुरु भएको छ । यस्तै उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका विद्यालयका प्रीन्सीपल टिकाराम पुरीले एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्बन्ध, नियमहरुका विषयमा जानकार बनाउने लगायतका उद्देश्य रहेको बताउका छन् ।
ग्लोबल हेल्प फाउन्डेसनसँगको सहकार्यमा सुरु भएको तीन दिवसीय कार्यक्रममा आज पहिलो दिन संयुक्त राष्ट्रसंघको महासभामा पालना गर्नुपर्ने नियम तथा आचारसंहिता लगायतका विषयमा जानकारी गराइएको छ । नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरु विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि छन् ।
उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवर्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेण्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।