विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकको हुलाकी सडक खण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय बासिन्दाले सडक सुधारको माग गर्दै अनौठो तरिकाले विरोध जनाएका छन् ।
बिहीबार बिहान सो क्षेत्रमा स्थानीय महिलाहरुले सडककै बीचमा धान रोपेर विरोध प्रदर्शन गरेका हुन् । बर्षेनी वर्षातको समयमा हिलो र पानी जमेर सवारी आवगमनमा समस्या भएपछि सर्वसाधारण र सवारी चालकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । सडकको दयनीय अवस्थाबाट आजित भएका स्थानीय महिलाहरूले सडकको विचमा जमेको पानीमा धान रोपेर विरोध जनाएका छन् ।

स्थानीयवासीका अनुसार हुलाकी सडक योजना अन्तर्गत निर्माण भएको कटहरी चोकको सडक खण्ड विगत दुई वर्षदेखि आधा अधुरा अवस्थामा छाडिएपछि हिलो, धुलो र खाल्डाखुल्डीले गर्दा धेरै सवारीसाधान दुर्घटनामा समेत परिसकेको छ ।
उक्त सडक खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सनले काममा चरम बेवास्ता गरेपछि र सम्पर्कमा समेत आउन छाडेपछि आयोजनाले ६ महिनाअघि कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा काम गर्न दिएको थियो । तर, पेटी ठेकेदारले पनि कामलाई गति दिन सकेको छैन ।
