विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् ।
बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ ।
विवादकै क्रममा धिमालले धारिलो हतियार प्रहार गर्दा खतिवडाको बायाँ कुममा गहिरो चोट लागेको छ । घाइते खतिवडाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । घटनापछि प्रहरीले धिमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।