विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत निरीक्षण तथा निर्देशन दिएका हुन् ।
उनले प्रादेशिक महत्वको उत्सव राधाकृष्ण रथयात्रा देशका लागि गौरव भएको बताएका हुन् । नयाँ रथ निर्माण भएपनि पुरानो रथको संरक्षण मन्दिर परिसरमै गर्न समेत मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।
धार्मिक महत्वको रथयात्रालाई अझै विशेष बनाउन नेपाली सेनासँग पुष्पवृष्टि गर्न अनुरोध गर्ने समेत बताएका छन् । रथयात्राको दिन आवश्यक पर्ने सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा संयन्त्रलाई निर्देशन दिदै आगामी वर्षदेखि समयमै पाहुनाहरुलाई निमन्त्रणा गर्ने प्रक्रिया थाल्न समेत समितिलाई अनुरोध गरेका छन् ।
उनले नेपाल र भारतका धर्मानुरागीको श्रद्धा रहेको राधाकृष्ण रथयात्रालाई विशेष बताउन सबै लाग्नुपर्ने बताउँदै यस वर्ष छोटो अवधी रहेका कारण समितिको अनुरोध अनुसार छिमेकी राष्ट्र भारतका मुख्यमन्त्रीहरुलाई निमन्त्रणका लागि प्रक्रियामा गएपनि कार्यन्वयन गर्ने समय नपुगेको बताएका छन् ।
राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मीले धार्मिक महत्व बोकेको राधाकृष्ण रथयात्रालाई विशेष बनाउन प्रदेश सरकारका मुख्यमन्त्रीले चासो राखेकोप्रति आधार व्यक्त गरेका थिए ।
कोशी प्रदेश सरकारले भाद्र कृष्णजन्माष्टमीको भोलिपल्ट रथयात्रालाई लक्षित गर्दै चार जिल्लामा सार्वजानिक विदा दिदैं आएको छ । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा आगामी भदौ १ गते सार्वजानिक विदा रहेको छ ।