इन्दु कुमारी साह
विराटनगर । नेपालमा बहुविवाह पूर्ण रूपमा कानुनले निषेध गरेको भएपनि अझै रोकिएको छैन। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७५ मा स्पष्ट रूपमा बहुविवाह गर्न नहुने व्यवस्था भए पनि, मोरङ जिल्ला अदालतको तथ्यांकले यसको गहिरो वास्तविकता उजागर गरेको छ।
आर्थिक वर्ष २०८१÷८२ मा मोरङ जिल्ला अदालतमा मात्रै ४६ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्। अघिल्ला वर्षको तुलनामा हेर्दा गत आर्थिक वर्षमा केहि कम मुद्दा दर्ता भएका हुन् ।
गत दर्ता भएकामध्ये ३४ मुद्दामा फैसला भइसकेको छ भने बाँकी १२ मुद्दा अझै विचाराधीन अवस्थामा छन्। तथ्यांक अनुसार, बहुविवाहका मुद्दामा सजाय भोग्नेमा पुरुषको संख्या अत्यधिक छ भने नगन्य मात्रामा महिलासमेत दोषी ठहर भएका छन्। अधिकांश घटनामा विवाहित पुरुषहरूले आफ्नो वैवाहिक अवस्था लुकाएर दोस्रो विवाह गर्ने गरेका छन्। धेरै महिलाले विवाहको समयमै पुरुष विवाहित हो भन्ने कुरा थाहा पाउँदैनन्। जब पहिलो श्रीमतीलाई यो कुरा थाहा हुन्छ, त्यसकै क्रममा दोस्रो श्रीमतीले पनि आफू पीडित भएको महसुस गर्छिन्।
यस्तो अवस्थामा दुवै महिलाले मानसिक, सामाजिक र भावनात्मक पीडा भोग्नुपर्ने मात्र होइन, कानुनी प्रक्रियामा लामो समय खर्च गर्नुपर्छ। मोरङमा दर्ता भएका बहुविवाहका मुद्दाहरूले देखाउँछन्— व्यक्तिगत स्वार्थ मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरूसँग पनि गाँसिएको छ। पहिलो श्रीमतीसँग सम्बन्ध राम्रो नहुनु, पारिवारिक दबाबमा पहिलो विवाह हुनु, पहिलो पत्नीबाट सन्तान नहुनु, प्रेम सम्बन्धमा पर्दा सन्तान जन्मिनु वा बाह्य आकर्षण र आवेगमा विवाह गर्नु जस्ता कारणले दोस्रो विवाहको सम्भावना बढाउने गरेका छन्।
यीमध्ये कतिपय अवस्थामा पुरुषको छलकपट र बेइमानीको भूमिका स्पष्ट देखिन्छ। इस्तै आर्थिक वर्ष २०८०\८१ मा ६८ बहुविवाहको मुद्दा दर्ता भएको थियो । भने आर्थिक वर्ष २०७९\८० मा ७३ मुद्धा दर्ता भएका थिए ।
नेपालको मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७५ अनुसार विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न पाइँदैन। त्यस्तै कुनै महिलाले पनि पुरुष विवाहित भएको थाहा पाई त्यस्तो विवाह गर्नु गैरकानुनी हो । यस कानुनको उल्लंघन गर्ने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र रु. १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै यस्तो विवाह स्वतः बदर हुने कानुनी प्रावधान छ । बहुविवाह अपराध मात्र होइन । यसले परिवार र समाजमा गहिरो मानसिक र सामाजिक असर पार्छ ।