विराटनगर साउन ३०
विराटनगर–५ स्थित विराटनगर इन्टरनेशनल कलेजमा व्यवस्थापन तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूले आफ्नो समर क्लास अन्तर्गत तयार पारेका परियोजनाहरूको ‘परियोजना प्रदर्शन’ कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरूले आठ हप्ताको तालिमपछि तयार पारेका विभिन्न परियोजनाहरू प्रदर्शन गरेका थिए।
सूचना प्रविधि संकायका विद्यार्थीहरूले तथ्याङ्क भण्डारण व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता, वेब विकास र अनुप्रयोग विकास विषयमा अध्ययन गरेपछि १५ वटा सूचना प्रविधिसम्बन्धी परियोजनाहरू सार्वजनिक गरेका थिए। त्यस्तै, व्यवस्थापन संकायका विद्यार्थीहरूले ३ वटा व्यवसायसम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका थिए।

कलेजका प्रमुख कार्यकारी सचितमान सेरचनले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई वास्तविक संसारमा काम गर्ने अनुभव दिने बताए। उनका अनुसार, कलेजले विगत ११ वर्षदेखि व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। हाल कलेजमा बेलायतको वल्भरह्याम्पटन विश्वविद्यालयको पाठ्यक्रम सञ्चालन भइरहेको छ।