विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरले आगामी असोज १ गते विराटनगरको जैन भवनमा आयोजन गर्न लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ को ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरिएको छ ।

नेपाल लगायत विश्वका ७५ वटा मुलुकहरुमा एकैपटक हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’लाई सबैले सहयोग गर्नेपर्ने धारणा राखेका छन् । शुक्रबार व्यानरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी इश्वर कार्की, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त बैद्य, नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डल लगायतले ब्यानरको शुभारम्भ गरेका थिए ।

तेरापंथ युवक परिषदले २०८२ साल असोज १ गते विराटनगरका १३ स्थानमा क्याम्प खडा गरेर १ हजार बढी पिन्ट रगत संकलन गर्ने योजना बनाएको छ ।
तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त बैद्यको सभापतित्वमा आयोजित मेगा ब्लड डोनेशन ड्राइभको जागरण तथा जनचेतना अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआईजी कार्कीले तेरापन्त युवा परिषद्ले आयोजना गर्न लागेको यो कार्य निकै नै प्रभावकारी रहेको बताए । उनले भने, यसको लागि प्रदेश प्रहरी कार्यलयमा पनि रक्तदान संकलनको लागि प्रहरी कर्मचारीले सहयोग गर्नेछन् । ‘म आफैले पनि अहिले सम्म ब्लड डोनेशन नगरेका कारण मेरो स्वास्थ्य अवस्थालाई हेरेर, म आफै पनि रक्तदान गरेर सहयोग गर्नेछु।’ मेयर नागेश कोइरालाले पनि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । हामी विराटनगरवासीको लागि यो कार्यक्रम राम्रो हो । हामी सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ ।

कार्यक्रममा नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी, जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रमका स्पोन्सर पार्टनर उद्योगी राजकुमार गोल्छा, परिषद्का उपाध्यक्ष अमित धाडेवा र महासचिव समिति सुरानाले मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, राजनीतिक एवं समाजसेवी दिलिप धाडेवा, समाजसेवी पवन सुराना, लेडिज सर्कल विराटनगर–५ का अध्यक्ष महिला उद्यमी कुसुम लुनियाँ, तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष मिलन नौलखा, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, वडा प्रहरी कार्यलयका डिएसपी अनमोल खड्का , जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक राजन लम्साल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम संचालन तथा ब्लड डोनेशनको बारे परिषद्का महासचिव समित सुरानाले जानकारी गराएका थिए ।