नयाँ रथमा चिटिक्क श्रृंगार

<span class='c1'>नयाँ रथमा</span> <span class='c2'>चिटिक्क श्रृंगार</span>

विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेखि रथयात्रा सुरु भएको हो । यसरी हेर्दा यसवर्ष ५८ औं संस्करण मानिन्छ । यद्यपी त्यस अगाडी १९८८ सालदेखि राधाकृष्णलाई खाटमा राखेर परिक्रममा गराउने चलन रहेकोले त्यसलाई खटयात्रा भनिन्छ । अहिले यो प्रचलन सुरु गरिएको ९५ औं वर्ष पुगेको छ ।

यस पटक २०२५ सालमा बनेको रथ जीर्ण बनेपछि त्यहि स्वरुप तथा आकार बढाएर नयाँ रथ निर्माण गरिएको छ । ६० लाख लागतमा बनेको नयाँ रथलाई आज श्रृंगार गरेर चिटिक्क पारिएको छ ।
नयाँ रथ दुईहजार २०० केजी फलामको डायसमा सखुवा र सिसौको काठबाट कलात्मक ढंगका बुट्टा कुँदेर निर्माण गरिएको छ । वास्तुशास्त्र अनुसार प्यागोडा शैलीमा निर्मित संरचनामा धार्मिक महत्व भरिएको छ ।

राधाकृष्ण रथयात्राका प्रधान सारथी पण्डित भवानी शंकर निरौलाका अनुसार रथको अगाडी चन्द्र–सुर्यको झण्डा फहराइन्छ । जसको महत्व विशेष छ । त्यस बाहेक अगाडीको बाँया कोणमा हनुमान, दायाँ कोणमा गरुडको झण्डा रहनेछ । आग्नेय कोणमा वास रहेका हनुमानले रथको रक्षा गर्ने महत्व रहेको छ । त्यस्तै दाँया कोणमा गरुडको झण्डा रहनेछ । जसको महत्व भगवान कृष्णको वहान र अगाडी बढ्न सदा तत्पर रहने भन्ने हुन्छ । पछाडीको एउटा कोणमा दुर्गा र अर्को कोणमा गणेशको झण्डा फहराइन्छ । जसको अर्थ शक्ति, सामर्थ र विघ्नहरण गर्ने रुपमा लगाइन्छ ।

पण्डित निरौलाका अनुसार रथ गुडाउने चार चक्का रहेका छन् । त्यसैले यसलाई धर्मरुपी रथ मानिन्छ । जसले धर्म, अर्थ, काम (सुख) र मोक्षको प्रतिकको रुपमा कार्य गर्दछ ।
यस बाहेक यस पटकको रथमा राधाकृष्णलाई विराजमान गराउने विशेष सिंहासन छ । जसमा भगवान कृष्णको जन्म पश्चात मथुराबाट गोकुलमा सार्ने क्रममा अष्टनागले सुरक्षा गरेको प्रतिकको निर्माण गरिएको छ । अष्टनागको स्वरुप अनन्त, बासुकी, पद्म, महापद्म, तक्षत, कुलिर, कर्कट, शंखको रुपमा मानिन्छ ।

सखुवाको काठमा कुँदेर बनाइका चित्र भगवान श्रीकृष्णसँग मेल खाने किसिमका रहेको बताइएको छ ।प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो हुनेछ । यो जुवा बाहेकको डायसको क्षेत्रफल रहेको छ । १४÷१९ वर्गफुटको डायसमा ९ फिट चौडा र १० फिट उचाईको कोठा बनेको छ । यस अगाडी भगवान रहने क्षेत्र ४÷४ को मात्रै थियो ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार विराटनगर महानगरपालिकाले ४४ लाख ७८ रुपैँया बजेट उपलब्ध गराएको थियो ।

दक्षिण एशियामै दोस्रो ठूलो मानिने रथयात्रा अवलोकनमा आउने श्रद्धालुले भगवानलाई हेर्न नपाएको गुनासो गरेका कारण नयाँ रथ निर्माण गर्नु परेको दावी छ । नयाँ रथ आज निकाल्दा भक्तजनले त्यसको कसरी अनुभूति गर्नेछन्, त्यो भने हेर्न बाँकी छ ।
रथ निर्माणका लागि २०० क्यूफिट काठको जोहो गरिएको थियो । तीनस्तर छाना भन्दा माथि गजुरको भाग रहनेछ ।
नयाँ बनेको रथको वजन झण्डै सात हजार केजी रहेको अनुमान गरिएको छ । रथ तान्नका लागि अगाडी दुईवटा लठ्ठा बाँध्ने ठाउँ राखिएको छ । जसमा दश फुट लामो जुवा सखुवाको काठबाट बनेको लगाइएको छ । जुन स्थानमा डोरी लगाएर अगाडी तानिने छ । रथ तान्नका लागि प्रहरीहरु परिचालन गरिएको छ ।

विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथ मेनरोड हुँदै रोडशेष चौक, त्यसपछि धरानरोडबाट महेन्द्रचौक, वरगाछी हुँदैे नौ किलो मिटरको रुटमा घुमाइने छ । पुजा अर्चनाका लागि ४४ स्थानमा विश्राम गरिनेछ । कोशी प्रदेश सरकारले आज चारवटा जिल्लामा प्रादेशिक सार्वजानिक विदा दिएको छ । जसमा मोरङ, सुनसरी, झापा र उदयपुर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्