इन्दु कुमारी साह
विराटनगर । नेपालकै ठूलो धार्मिक पर्व मानिने विराटनगरको ५८ औँ रथयात्रा यसवर्ष भव्यताका साथ सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीको दावी अनुसार यसवर्ष रथयात्रामा पाँचलाख बढी धर्मानुरागी सहभागि भएका थिए ।
यसपटक नयाँ रथ आकर्षण बनेको थियो । सोही कारण भक्तजनको उपस्थिति विगतका वर्षभन्दा धेरै भएको रेग्मीले बताए । अत्याधिक भीडका कारण सुरक्षाकर्मीलाई नियन्त्रण गर्न मुस्किल भएको र कतिपय सुरक्षाकर्मी भिडमा हराएको उनको भनाई छ । यद्यपी प्रहरीले यति ठूलो मासलाई सचेततापूर्वक कमाण्ड गरेर शान्तपूर्वक रथयात्रा समापनसम्म खटेको थियो ।
रथयात्राका लागि १२ सय सुरक्षाकर्मी र एक हजार स्वयम्सेवक परिचालन गरिएको थियो । तर, अपेक्षाभन्दा बढी जनमासका कारण सुरक्षातर्फ कमजोरी देखिएको आयोजक समितिको भनाइ छ । रथलाई राधाकृष्ण मन्दिरबाट तीनपैनी, रोडशेष, बरगाछी हुँदै दुर्गाचोक पार गरेर पुनः मन्दिर परिसरसम्म परिक्रमा गराइयो। प्रारम्भिक योजना अनुसार ४४ स्थानमा मात्र विश्राम गराउने भनिए पनि भक्तजनको चापका कारण रथलाई ७० स्थानमा रोकेर विश्राम गराइएको समितिले जानकारी दिएको छ ।
विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट ४:०६ मा प्रारम्भ भएको रथयात्रा १०ः१५ मा मन्दिर परिसरमा पु¥याइएको थियो ।
आईतबार सम्पन्न रथयात्रामा नेपालका विभिन्न जिल्लाका भक्तजन उपस्थित रहेका थिए । साथै भारतबाट समेत ठुलो संख्यामा भक्तजनको सहभागिता रहेको थियो। भीड व्यवस्थापनमा चुनौती भए पनि रथयात्रा समग्रमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ । राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष रेग्मीका अनुसार भिडभाड बढे पनि सुरक्षा व्यवस्थापनमा चिन्ताजनक विषय नभएको र राम्रासंग सम्पन्न भएको बताएका छन् । प्रत्यक वर्ष ५ लाख भन्दा बढि भक्तजनको सहभागिता हुने गरेको छ । यो रथयात्रालाई १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा रहेको थियो । २०२५ सालदेखि भने खटयात्रालाई रथयात्रामा रुपान्तरण गरिएको हो ।