विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा अहिले सप्ताव्यापी कार्यक्रम मनाईरहेको छ ।
सप्ताहव्यापी रजत जयन्ती समारोहअन्तर्गत हस्पिटलले बुधबार झिः पुचको भवनमा सम्पन्न कार्यक्रममा एकैदिन २५० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, मोरङको प्राविधिक सहयोगमा आयोजना गरिएको खुल्ला रक्तदान कार्याक्रमलाई एक ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेको छ ।
्सोसाइटीका मोरङ सभापति सुकदेव मण्डलले जिल्लामा यसअघि कुनै पनि एकदिने कार्यक्रमबाट यति ठूलो परिमाणमा रगत संकलन नभएको पुष्टि गरे । ‘न्यूरो हस्पिटलको यो प्रयास प्रशंसनीय छ । एकैदिन २५० पिन्ट रगत संकलन हुनुले रगतको बढ्दो मागलाई सम्बोधन गर्न ठूलो सहयोग पुग्नेछ,’ उनले भने । हस्पिटलको यस सामाजिक उत्तरदायित्वपूर्ण कार्यले अन्य संघसंस्थालाई पनि प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटलका संस्थापक एवम् वरिष्ठ कन्सल्ट्यान्ट न्यूरोलोजिस्ट डा.वीरेन्द्रकुमार विष्टले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा हस्पिटलका प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले रक्तदानको प्राविधिक तथा स्वास्थ्य महत्वबारे प्रकाश पारेका थिए । उनले शरीरमा रगतको मात्रा सन्तुलित हुनुपर्ने र रक्तदानले रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने जानकारी दिए ।
हस्पिटलले रजत जयन्तीको अवसरमा साताव्यापी कार्यक्रमहरू आयोजना गरेको छ । हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराईका अनुसार यसअघि सोमबार विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरिएको थियो । बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएसँगै साँझ सञ्चारकर्मी र हस्पिटलबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै, बिहीबार पत्रकार सम्मेलन र पूजापाठको कार्यक्रम तय भएको छ । सप्ताहव्यापी कार्यक्रमको मुख्य समारोह भने भदौ ७ गते वीरेन्द्र सभागृहमा आयोजना हुनेछ, जसलाई स्वास्थ्यमन्त्रीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् । कार्यक्रमको समापन भदौ ८ गते नगर परिक्रमा गरेर गरिने भट्टराईले जानकारी दिए । २५ वर्षको यात्रामा स्वास्थ्य सेवामा समर्पित न्यूरो हस्पिटलले आयोजना गरेको यो कार्यक्रमले सामाजिक क्षेत्रमा समेत उदाहरणीय काम गरेको छ ।