विराटनगर । महिलाहरूको महान् पर्व तीजको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडी) मोरङ शाखाले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूसँग तीज पर्व मनाएको छ ।

संघले सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर महानगरपालिका–५ मा अवस्थित आश्रममा एक विशेष कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकहरूसँग पर्वको खुसी साटासाट गरेको हो । कार्यक्रममा संघका सदस्यहरूले आश्रममा रहेका आमाबुवाहरूलाई मीठो भोजन गराउनुका साथै तीजको शुभकामना आदानप्रदान गरेका थिए । पारिवारिक स्नेहबाट टाढा रहेका ज्येष्ठ नागरिकहरूलाई पर्वको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनसीडी मोरङकी सचिव तथा कार्यक्रम संयोजक सरिता श्रेष्ठले बताइन् । ‘कोही नभएकाहरूका लागि हामी छौँ भन्ने भावना जगाउन र उहाँहरूको मुहारमा खुसी ल्याउन यो सानो प्रयास गरेका हौँ,’ उनले भनिन् । भोजन कार्यक्रमपछि आयोजित सांगीतिक कार्यक्रममा ज्येष्ठ नागरिकहरूसँग तीजका गीतहरूमा नाचेर रमाएका थिए ।

उनीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमको रौनक बढाएको थियो । संघका यस किसिमका मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने एनसिडिए मोरङका अध्यक्ष देशबन्धु ढकालले बताए । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनसीडीका केन्द्रीय सदस्य प्रदीप दास, कोशी प्रदेशका उपाध्यक्ष सुधनधोज श्रेष्ठ, मोरङ शाखाका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी, महासचिव अरुणकुमार ब्रम्हाण ठाकुरलगायत अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । उनीहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
