विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी संभावना बोकेका युवालाई उद्यमी बनाउने योजनासहित स्टार्टअप र नवप्रवर्तन कार्यक्रमलाई तिव्रता दिइएको छ । मेची औधोगिक करिडोरका स्थानीय तह र उद्योग बाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोड स्टार्टअपका लागि अभिमुखीकरण सम्पन्न गरे लगतै शुक्रबार विराटनगरमा अर्को कार्यक्रम आयोजना गरेको हो ।
महासंघ प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा उद्योगी व्यवसायीहरूका स्टार्टअप र नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको थियो । कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवापुस्ताले आर्जन गरेको नयाँ सीप, ज्ञान र दक्षतालाई लगानीको वातावरण सिर्जना गरेर उत्साह भर्ने लक्ष्य राखिएको बताएका छन् ।
उद्यमशिलताको अवधारणा, उद्यमशिलताको विकास, सफल उद्यमशिलता निर्माण गर्ने, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउने लगायतका विषयमा समेटिएको अभिमुखीकरणमा अध्यक्ष राउतले डिजिटल उद्यमशिलताको विकास गर्ने ठुलो सम्भावना रहेको बताएका थिए । युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्न सके मात्रै कोशी प्रदेश रोजगारी सिर्जना र लगानीमा सकारात्मक प्रभाव पर्ने राउतको बुझाई छ ।