एक महिना अघिदेखि दर खाने ? खाने नि, किन नखाने !

<span class='c1'>एक महिना अघिदेखि दर खाने ?</span> <span class='c2'>खाने नि, किन नखाने !</span>

शोभा तिम्सिना
कस्तो विकृति आयो गाँठे ! तीजको दिन खानुपर्ने दर एक महिना अगाडिदेखि नै ? तीजका गीत भनेर जस्तासुकै गीत पनि गाउने, जसले पनि गाउने ? दरका नाममा जे पनि खाने ? दारु, मासु पनि नछोड्ने ? कुर्ता र साडी नयाँ नयाँ चाहिने ? दर खान भनेपछि दश काम छाडेर भेला पनि भइहाल्ने ? उफ ! तीज अब तीजजस्तो रहेन ।

तीजको समय आयो कि केही मानिसहरु उपरोक्त धारणा वा प्रतिकृयाहरु व्यक्त गर्छन् । यस्ता मानिसहरु अधिकांश त पुरुष नै हुन् । अनि कोही चैं प्रगतिशील विचारधारा बोक्नेहरु हौं भन्ने । यस्ता धारणा र प्रतिकृयाहरु व्यक्त गर्नेहरुमध्ये कोही त सकेसम्म हाम्रो मौलिक पर्व सधैं मौलिक नै रहोस्, विकृति नआ‍ओस् भनी चिन्ता र चासो व्यक्त गर्नेहरु हुन् । उनीहरुप्रति सम्मान छ ।
तर धेरैलाई चैं महिलाहरु घरबाट निस्केर भेला भएको, नाचेको, गाएको, खाएको, रमाइलो गरेको देख्दा सहन कठिन हुन्छ । सायद पुरुषवादी अहममा ठेस पो लागेर हो कि ?

तिज वा दरकै बहाना पारेर केही हप्तासम्म महिलाहरुको सामूहिक कार्यक्रमको जुन माहोल देखिन्छ, मलाई चैं गजब लाग्छ । यसका केही कारण छन् ।
१. घरको या कार्यालयको काम लथालिङ्ग छाडेर महिलाहरू भेला भएका छैनन् । समय व्यवस्थापन गर्दै घर, अफिस या आफ्नो व्यावसायिक काम सिध्याई फुर्सद निकालेर भेला भएका हुन् । आलोचना गरिएजस्तो यस्ता भेलाहरु अनुत्पादक र फगत खान र नाच्नकै लागि मात्र आयोजना भएका होइनन् । यस्तै भेलामा विभिन्न विचार आदान प्रदान हुन्छ । महिला अधिकार र सशक्तिकरणका कुरा हुन्छन् । चिनजान हुन्छ । नयाँनयाँ मानिससँग सम्बन्ध विकास हुन्छ । केही नयाँ कुरा थाहा हुन्छ ।

२. महिलाहरूले ऋण काढेर तीज मनाएका छैनन् । कसैकसैले ऋण नै लिएका रहेछन् भने पनि तिर्न सक्ने आँटले ऋण लिएका छन् । सकेसम्म कम खर्च गरी बढी रमाइलो गर्ने गरेका छन् । पुरूषको तुलनामा मितव्ययी बन्न खोज्ने महिलाहरूको स्वभाव नै हो ।
लुगाकै कुरा गर्दा मध्यम वर्गका महिलामा सस्ता तर विभिन्न ढाँचाका लुगाहरु किन्ने मामलामा निकै गतिलो सीप हुन्छ । चाडपर्व लक्षित प्रतिस्पर्धात्मक बजारमा एउटा पिसको त धेरै महङ्गो पर्दैन भने महिलाहरुको समूहकै लागि एकै प्रकारको लुगा त झन सस्तो हुने भइहाल्यो । तसर्थ नयाँ नयाँ कुर्ता र साडी लगाउन पनि छोड्दैनन् । फेरि चाडपर्वको बहानामा खाँदै नखानु, कसैलाई उपहार दिंदै नदिनु र नयाँ नयाँ पोशाकहरु किन्दै नकिन्नु हो भने बजार र अर्थतन्त्र कसरी चलायमान होला र ?
३. दरको नाममा महिलाहरूले दारू खान थाले भनी आलोचना गर्नुको कुनै तुक छैन । जसले कहिल्यै दारु खाँदैन, उसले तिजमा पनि खाँदैन । तर दारू खान र दारूमा रमाउन चाहनेहरूले जहिले पनि खान्छन् । हो, सामान्दायतः दारु खानुलाई ठिक मान्न सकिन्न । अत्यधिक दारु सेवन स्वास्थ्य, अर्थ र नैतिकताको दृष्टिले गलत पनि हो । तर सधैं खान बानी परेकाहरुले विभिन्न पर्व उत्सवलाई समेत बहाना बनाए भने किन आलोचना गरिरहनु र ?

 अपवादलाई छोडेर महिलाहरू तीजका गीतमै नाचेका छन् । तीजका गीत पनि पछिल्लो समय सालिन र सन्देशमूलक बन्दै गएका छन् । पछिल्लो समयका गीतहरूले पहिलेपहिलेका पोइला जान पाम, भिनाजु पल्केर, ढाडे बिरालो आदि झैं उट्पट्याङ शब्द बोकेका छैनन् ।

कसैलाई अटेन्सन सिकिङ गर्न होस या विशिष्ट रहरले, अन्य सन्दर्भका भाषाका वा अश्लिल ठानिने गीतमा टिकटक, रिल बनाउँछन् । त्यो बेग्लै कुरा हो । ती आलोचित पनि छन् । नत्र भने स्वदेशदेखि विदेशसम्मका कार्यक्रममा महिलाहरु तीजका गीतमै नाचेका बग्रल्ती भिडियो, टिकटक र रील हेर्न पाइन्छ । यसले के पुष्टि हुन्छ भने विकृति भित्र्याउन कसैले खोज्छ भने त्यो प्रयास दिगो र आलोचनामुक्त हुन्न । सचेत र विवेकी मानिसहरुले विकृतिलाई क्रमशः त्याग्दै पर्व मनाउछन् ।

४. अबको दर माइती र चेलीको सम्बन्धमा मात्र सीमित देखिएन । अचेल त छिमेकीहरू, अफिसका कर्मचारीहरू, पार्टीका कार्यकर्ताहरू, कुनै अमूक संस्थाका सदस्यहरु र दौतरीहरूसम्म दर फैलिसकेको छ । सबैको आ(आफ्नै तरिकाले जमघट हुने बहाना बनेको छ, दर कार्यक्रम । यसकारण फरक स्वरूपमा तिज र दर बाँचिरहेको छ भन्न सकिन्छ ।
चेली र माइतीबीचको सम्बन्धमा मात्र अबको समयमा दर बाँच्न संभव पनि छैन । किनभने उहिलेको समयमा झैं चेली र माइतीको भौतिक भेट अब दूर्लभ र कठिन छैन । माइति र चेलीले भेट गर्न, भलाकुसारी गर्न र मिठो मसिनो खान अब भूगोल र सञ्चारको सुगमताको कारणले जुनसुकै समयमा सहज छ । अर्थात यसको लागि तिज नै कुरिरहनुपर्दैन । सहज भएपछि महत्त्व चैं स्वतः घट्तै जान्छ ।

५. तिज हिन्दु नेपाली महिलाहरुको मौलिक पर्व हो । तर पछिल्लो समयमा तिज नेपालभित्र मात्र सीमित रहेको देखिन्न । यस पर्वको अवसरमा युरोप, अमेरिका र अस्ट्रेलियासम्म हप्तौंदेखि हुने गरेका नेपाली दिदी बहिनीहरूका जमघट र विविध सांस्कृतिक कार्यक्रमहरूले तिजलाई क्रमशः अन्तर्राष्ट्रिय स्तरको पर्व बनाइरहेछन् । अर्थात जहाँ नेपाली, त्यहाँ तिज । विदेशमा हुने त्यस्ता कार्यक्रमहरुले विदेशी सञ्चारमाध्यममा पनि क्रमशः स्थान पाउँदा विदेशीले पनि हाम्रो पर्वलाई चिन्न थालिसके । मौलिक नेपाली पर्व अन्तर्राष्ट्रिय स्तरसम्म क्रमशः विस्तार हुनु समग्र नेपालीहरुकै लागि गर्वको कुरा हो ।

अन्त्यमा, अन्य सांस्कृतिक पर्वहरु झैं तिज मनाउने सन्दर्भमा पनि विकृति नभित्रिएका वा भित्रन नखोजेका होइनन् । विकृतिप्रति सबै सचेत पनि हुनुपर्छ । तर तिजप्रति निरपेक्ष रुपमा नकारात्मकता औंल्याई कसैले ‘हैट ! ‘एक महिना अघिदेखि दर खाने ?’ भनी आलोचना मात्र गरिरहन्छ भने भन्न मन लाग्छः ‘खाने नि, किन नखाने !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्