विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका शोकसन्तप्त परिवारमाथि मध्यरातमा हमला भएको छ । सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर परिवारका सदस्यमाथि आक्रमण गरेको पिडितहरुले बताएका छन् ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर
आक्रमणबाट मृतकका श्रीमान् हरिनारायण कामत र उनका छोराहरु किरण कामत, सन्तोष कामत , छोरी काली कामतलाई कुटपिट गरी घाइते बनाएका थिए । माइला छोरा किरण कामत आमाको मृतआत्मको चिरशान्तीको कामना गर्दै विगत सातदिनदेखी किरियामा थिए ।
मध्यरातमा भएको घटनापछि पीडित परिवारले तत्काल घर नजिकै रहेको बखरी प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको टोली घटनास्थल पुग्यो । तर, प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीद्वय प्रमोद र सुनिल फरार भइसकेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा थप टोली आयो र राति १ बजेतिर सुनिलको घरमा छापा मा¥यो, तर उनी त्यहाँ फेला परेनन् ।
मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै आक्रमणकारीविरुद्ध अर्भद्र व्यावहारको मुद्दामा किटानी जाहेरी दिएका छन् । उजुरी दर्ता भएलगत्तै मोरङ प्रहरीले तीव्र सक्रियता देखाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर
मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुडालले घटनाको गम्भीरतालाई स्वीकार गर्दै भनिन, “पीडित परिवारबाट उजुरी परेपछि हामीले आरोपितहरूलाई नियन्त्रणमा लिइसकेका छौं । घटना अत्यन्तै संवेदनशील प्रकृतिको छ। किरियामा बसेको अवस्थामा भएको आक्रमणलाई हामीले गम्भीर रूपमा लिएका छौं र यस विषयमा गहन अनुसन्धान भइरहेको छ ।” शोकमा डुबेका परिवारमाथि भएको यो घटनाले स्थानीयस्तरमा चर्को आलोचना समेत भएको छ । स्थानीयवासीहरुले घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेका छन् । मोरङ प्रहरीले घटनामा संलग्न प्रमोद सहनी र सुनिल सहनीलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान अघि बढाएको जनाएको छ ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर
कुटपिट हुनुको पछाडी जग्गा विवादले निम्ताएको स्थानियले बताएका छन् । विराटनगर–११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा विगत ३५ वर्षदेखि यही जग्गामा हरिनारायण कामतको परिवारले घर बनाएर भोगचलन गर्दै आएको थिए । त्यही जग्गा आक्रमणकारीहरुले परिवारलाई उक्त जग्गाबाट हटाउन पटक–पटक धम्की दिने र मानसिक तनाव दिने गरेको परिवारको आरोप छ ।