विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा लामो समयदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा प्रसाद दाहाल, प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी वरिष्ठ हवल््दार बिष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरी गरिएको हो ।
उत्कृष्ट घोषित भएका प्रहरी निरीक्षक खनाल मोरङ प्रहरीमा कार्यरत छन् । यसअघि पनि उनले विभिन्न जटिल प्रकृतिका अपराध सफलतापूर्वक अनुसन्धान गर्दै अपराधीलाई कानूनी दायरामा ल्याएका थिए । यसपटकको अपरेसनमा समेत उनले टोलीलाई सूक्ष्म ढंगले नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अपराध अनुसन्धान र नियन्त्रणमा असाधारण भूमिका निर्वाह गर्ने प्रहरीलाई प्रत्येक महिनामा उत्कृष्ट प्रहरी घोषणा गर्ने परम्परा अनुसार यसपटक उनीहरूको टोली चयन गरिएको हो ।
२०८१ साल माघ १५ गतेदेखि विभिन्न समयमा मोरङका १० स्थान, सुनसरीका १२ स्थान र झापाका २ स्थान गरी जम्मा २४ ठाउँमा ट्रान्सफर्मर चोरी भएका थिए । चोरी घटनाका कारण नेपाल विद्युत प्राधिकरणको सेवा अवरुद्ध हुनुका साथै स्थानीय बस्तीहरू अन्धकारमा बस्न बाध्य भएका थिए ।
यी घटनाको गहन अनुसन्धान गर्दै प्रहरीले नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी, विराटनगरसँग समन्वय गर्दै विशेष अपरेसन सञ्चालन गरेको थियो । अनुसन्धानको क्रममा चोरीमा संलग्न १२ जनालाई गत साउन ९ गते पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेकाहरूसँगै प्रहरीले चोरीमा प्रयोग भएका विभिन्न औजारहरू, ट्रान्सफर्मरबाट निकालिएको ३६८ किलो ५ सय ग्राम तामाको तार बरामद गरेको छ ।