जनगायक स्व. जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा भोलि (शनिबार) विराटनगरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।
जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्मृति दिवसको कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हुने छ। कार्यक्रममा टुहुरेका कालजयी गीत तथा संगीत प्रस्तुत गरी उनको योगदानलाई स्मरण गरिनेछ।
सोही अवसरमा सुनसरी, धरान निवासी प्रगतिवादी कवि तथा साहित्यकार बम देवान र विराटनगर निवासी गीतकार एवं संस्कृतिकर्मी खेम नेपालीलाई सम्मान गरिने फाउण्डेशनले जनाएको छ।
यसअघि स्मृति दिवसकै अवसरमा गीतकार एवं राजनीतिज्ञ लव प्रधान ‘मित्र’, कवि अनिल पौडेल र मरणोपरान्त जनकलाकार खुशीराम पाख्रिनलाई सम्मान गरिसकिएको थियो। फाउण्डेशनकी अध्यक्ष टुहुरेले यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको बताइन्।