विराटनगर । संघीय सरकारले ल्याएको शिक्षा विधेयकका प्रावधानहरूले निजी शैक्षिक क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश पोख्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।
निजी शैक्षिक संस्थाका सञ्चालकहरूको छाता संगठन प्याब्सनसहित पाँच संगठनले विराटनगरको महेन्द्र चोकमा शुक्रबार जिल्लाव्यापी खबरदारी सभा आयोजना गरेका छन् ।

सभामा सहभागी वक्ताहरूले वर्तमान शिक्षा विधेयक निजी विद्यालयहरूलाई बन्द गर्ने उद्देश्यका साथ आएको आरोप लगाउँदै तत्काल संशोधनको माग गरेका छन् । सरकारले आफ्ना मागहरू सम्बोधन नगरे देशभरका संस्थागत विद्यालयहरू ठप्प पार्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
कार्यक्रममा बोल्दै निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले नेपालको निजी शैक्षिक क्षेत्रलाई समाप्त पार्ने उद्देश्यले केही व्यक्तिहरू अमुक शक्तिको इसारामा लागेको गम्भीर आरोप लगाए ।

सरकारले आफ्ना मागहरू पूरा नगरे भदौ १८ गतेदेखि देशभरका संस्थागत विद्यालय ठप्प पार्ने बाध्यता आउने चेतावनीसमेत उनले दिए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले संघीय सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयहरूलाई बन्द गर्ने अवस्था सिर्जना गरेको भन्दै तत्काल संशोधनको माग गरे ।

पोखरेलले निजी शैक्षिक क्षेत्रले देश र समाजका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गराए । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले संघीय शिक्षा विधेयकको कडा आलोचना गरे । उनले राज्यले विद्यालयस्तरीय माध्यमिक शिक्षालाई ध्वस्त बनाएमा नेपाली विद्यार्थीहरू छिमेकी मुलुक भारतलगायत अन्य देशमा पढ्न जान बाध्य हुने चेतावनी दिए । खबरदारी सभामा सहभागी अन्य वक्ताहरूले पनि शिक्षा विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन र शैक्षिक लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए ।
