विराटनगर । लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्ट विराटनगरमा आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता उपाधी ईटहरीमा रहेको सुष्मा गोदावरी कलेजकी श्रेयसी भट्टराईले उपाधी जितिन् ।
विराटनगरको मोरङ उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार सम्मन्न प्रतियोगितामा सुनसरी र मोरङका १७ वटा कलेजका २७ जना विद्यार्थीले सहभागिता जनाएका थिए । उनीहरुले “महंगी, बेरोजगारी र युवाको भविष्य” शीर्षकमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा २६ जनालाई पछाडी पार्दै उनले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले नगद १० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, गार्जियन माइक्रोलाइफतर्फबाट एक वर्षका लागि पाँच लाख बराबरको बीमा, फ्रीस्टाइल फिटनेस तर्फबाट तीन महिनाको गोल्ड जिम सदस्यता, ह्वाइट हाउस थकालीको फूड भाउचर तथा अन्य उपहार प्राप्त गरिन् । त्यसैगरी दोेस्रो पुरस्कार मोरङको सुकुना बहुमुखी क्याम्पसकी कुसुम नेपाल भईन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन इन्द्र खत्री (राजन), विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, लियो क्लब अफ विराटनगर यंग हर्टका अध्यक्ष कुशल कोइराला, प्रथम उपाध्यक्ष प्रश्रित ढकाल, कोषाध्यक्ष विकास दाहाल तथा कार्यक्रम संयोजक प्रथम ओझा रहेका थिए । साथै लायन्स क्लबका द्वितीय उपाध्यक्ष पंकज कुमार बाहेती, अन्य लायन्सर लियोका पदाधिकारी, पास्ट प्रेसिडेन्ट र पाट डिस्टिक प्रेसिडेन्ट लगायतको उपस्थिति थियो । निर्णायक मण्डलमा डा.सन्देश दास श्रेष्ठ, डा.डिल्ली प्रसाई र निशा खुशी रहेका थिए ।
