विराटनगर । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रोमत दैनिकको सहकार्यमा भएको कार्यक्रममा डा. साहको गहन कृतिमाथि शनिबार विस्तृत छलफल गरियो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताए । उनले डा. साहले आफ्नो लामो पेसागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेकोमा प्रशंसा गरे । प्रा.डा. थपलियाले आफ्नी आमाले पनि यो पुस्तक अध्ययन गरिरहेको जानकारी गराउँदै यसको महत्वमाथि प्रकाश पारे ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए । उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या, र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयहरूलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गरे । पुस्तकमा प्रस्तुत प्रत्येक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे विस्तृत जानकारी दिइएको पक्षलाई टिप्पणीकारहरूले विशेष रूपमा प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मिनकुमार नवदीत, साहित्यकार दिनेश सुवेदी, र प्रतिमा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. साहको यस कार्यको सराहना गर्दै यस्ता कृतिहरूले समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै लेखक डा. बालकृष्ण साहले आफूले आफ्नो पेसाका क्रममा देखेका वास्तविक घटनाहरूलाई नै पुस्तकमा उतारेको बताए । उनले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग पाएमा थप कृतिहरू बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा हाम्रोमत दैनिकले लेखक डा. साहलाई सम्मानसमेत गरेको थियो ।

पत्रकार अनिल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए । समापन मन्तव्य राख्दै सम्पादक आचार्यले हाम्रोमत दैनिकले सधैँ साहित्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।