जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापित एक लाख रुपैयाँ राशिसहितको सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मीद्वय वम देवान र खेम नेपालीले पाएका छन् । जेबी टुहुरे फाउन्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने यो सम्मान यसअघि गीतकार लव प्रधान (मित्र), कवि तथा गीतकार अनिल पौडेल र जनगायक खुसीराम पाख्रिन (मरणोप्रान्त)ले पाइसकेका छन् ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले श्रष्टाद्वयलाई सम्मान गरेकी हुन् । सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, कांग्रेस नेता एवं पूर्वमुख्यमन्त्री केदार कार्की, एमाले नेता विनोद ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रियस्तरका विभिन्न कलाकारले जेबी टुहुरेका गीत गाएका थिए ।
फाउन्डेसनद्वारा राजेश थापाको संयोजकत्वमा गठित् ६ सदस्यीय शिफारिस समितिले सो निर्णय गरेको हो ।१४ भाद्रमा चौथो जेबी टुहुरे स्मृति दिवसको सन्दर्भमा विराटनगरमा आयोजना गरिने स्मृति दिवस ता श्रष्टा सम्मान कार्यक्रममा दुवै श्रष्टालाई ५०, ५० हजार रुपैयाँसहित सम्मान गरिने फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गीतगार वम देवानका ‘छोराहरू हो, छोरीहरू हो... वीर छोराछोरीहरू’लगायत दर्जनौँ गीतहरू चर्चित छन् । यो गीत जेबी टुहुरेद्वारा स्वर भरिएको गीत हो । त्यसैगरी गीतकार खेम नेपालीद्वारा रचित ‘के दिउँ, दाइजो चेलीलाई’, ‘पानी चल्दैन रे तर रगत चल्दछ’ जेबी टुहुरेद्वारा गाइएका चर्चित गीतहरू हुन् ।
१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे) को १० भदौ २०७८ मा काठमाडौंको बयोधा अस्पतालमा निधन भएको थियो । उनले गीतसंगीतको क्षेत्रबाट नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।