विराटनगर । विश्व बैंक अन्तर्गतको समूह इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले लगानी वातावरण कायम भए यस्ता उद्योगमा सस्तो ब्याजमा लगानी गर्न सकिने बताएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीसँग आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइएफसीका प्रतिनिधिले यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीसँगको सहकार्यमा आइएफसी, युरोपियन युनियन र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा लगानीयोग्य उद्योगमा वातावरण, सामाजिक र सुशासन स्थापीत भएको हुनुपर्ने बताइएको हो ।
आइएफसीका इन्भारोमेन्ट, सोसल एण्ड गर्भनेस (इएसजी) अधिकारी लोपा रहमान र परामर्शदाता सोफिया टामोटले औद्योगिक तथा व्यवसायिक सुशासन र यसको महत्व तथा वातावरण र सामाजिक चुनौतीमा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उद्योग स्थापना, त्यसका सञ्चालक, सञ्चालकले नियुक्त गरेका जिम्मेवार अधिकारी र त्यसका मातहत भएका कामदार तथा मजदुरले उद्योग भित्रको वातावरण प्रभाव सकारात्मक पाउनुपर्ने विषय उल्लेख गरिएको थियो । यसैगरी उद्योगले वातावरणमा पार्ने प्रभाव, सामाजिक रुपमा त्यसको महत्व र उद्योग भित्रको सुशासनमा समेत ध्यान दिनपर्ने जरुरी औल्याइएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले आइएफसीले नेपालमा राष्ट्र बैंकमा मात्रै नभई निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई समेत ऋण उपलब्ध गराउँदै आएकोमा अब उद्योगमा समेत ऋण लगानी गर्ने योजनामा रहेको बताएका छन् । आइएफसीले उद्योगको अवस्थिति सर्वेक्षणका लागि समेत काम गरिरहेकोले अब उसको मापदण्डमा पर्नसक्ने उद्योगलाई सोझै ऋण उपलब्ध गराउने तयारी गरिरहेको जानकारी गराएका हुन् ।
आइएफसीले वाणिज्य बैंकमा गरेको ऋण लगानी उद्योगहरुले सदुपयोग गर्न चाहेमा पनि मापदण्ड पालना भएका उद्योगले प्राथमिकता पाउने संभावना धेरै रहने बताइन्छ । त्यस बाहेक आइएफसीबाट सोझै ऋण लिनका लागि पनि मापदण्ड भित्र पर्दछ । त्यसका लागि वातावरण, सामाजिक र सुशासन उद्योगभित्र हुनुपर्नेमा उसले जोड दिएको हो ।
महासंघका अध्यक्ष राउतले विश्वव्यवसायिक जगतमा वातावरण, सामाजिक र सुशासन (इएसजी) महत्वपूर्ण बनेको बताउँदै लगानीकर्ताले कम्पनी वा उद्योग स्थापना गर्दा नाफा मात्रै हेर्न नसकिने बताउँदै उद्योग वा कम्पनी भित्र सामाजिक उत्तरदायित्व, वातावरणीय प्रभाव र सुशासनको अभ्यास भइरहेको दावी गरेका थिए । उनले अझै त्यसमा परिस्कृत हुँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीले विगत केहिवर्ष यता कृषि उपज उत्पादन बृद्धिमा जोड दिदैं पर्यावरण र सामाजिक आर्थिक रुपान्तरणको कार्यलाई बढाइरहेको बताउँदै साना तथा मध्यमस्तरका उद्योगबाट अहिले वातावरण, सामाजिक र सुशासनका क्षेत्रमा उल्लेख्य योगदान पुगिरहेको दावी गरिएको थियो । जसमा महिलाहरुद्वारा सञ्चालन उद्योगहरु ढाका, अल्लो कपडा, सागबाट बन्ने गुद्रुक र करेला जस्ता उत्पादनले वातावरण जोगाउने र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको भनाई थियो । महासंघले कृषि उत्पादनका क्षेत्रमा भएका साना र मध्यम उद्यम प्रोत्साहनमा ध्यान केन्द्रीत गरेको अध्यक्ष राउतले जानकारी गराएका थिए ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल शारडाले अहिलेका उद्योगहरुको अवस्था र उद्योग भित्रको इएसजी मापदण्डको विषयमा चासो राखेका थिए । कार्यक्रममा उद्योगहरुको वर्तमान अवस्था बारे उपस्थिति उद्योगीबाट प्रश्नावली तयार गरेर सर्वेक्षण समेत गरिएको नेपाल उद्योग वाणिज्य महासंघका महाप्रवन्धक राधारमण भण्डारीले जानकारी दिएका छन् ।