विराटनगर । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विहान विराटनगर रानीमा प्रभातफेरी निकालिएको छ ।
“तिनै तहका सरकार मिली गरीने हातेमालो, मानव बेचबिखन हटाउ, दुष्चक्रको जालो हटाउ” भन्ने मूल नाराका साथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको प्रमुख अध्यक्षतामा प्रभातफेरी आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न मानव अधिकार संघ–संस्था, नेपाल प्रहरी, स्थानीय निकायका प्रतिनिधि, विद्यार्थी र सामाजिक अभियन्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने उद्देश्य सहित विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेरर नगरपरिक्रमा गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी यादवले मानव बेचबिखन एक गम्भीर अपराध भएकाले सबै निकाय एकताबद्ध भई नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले तिनै तहका सरकारबीचको सहकार्य र समाजको सक्रिय सहभागिताले मात्र मानव बेचबिखनविरुद्धको अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
