विराटनगर । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) दरमा परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा झन् बढी पर्ने चिन्ता विराटनगरका उद्योगी व्यवसायीले गरेका छन् । नेपालका करका दर, कारण वस्तु उत्पादन लागत बढी पर्ने गर्दछ । भारतले घटाएको जीएसटी दरको प्रभाव खुल्ला सीमानाका भएको नेपाल जस्तो देशमा अझै पर्ने चिन्ता व्यक्त गरिएको हो ।
मोरङ उद्योग व्यापार संघले यस सम्बन्धमा चिन्ता व्यक्त गर्दै नेपाल सरकारले तत्काल केहि नीतिगत सुधार नगरे देशका उत्पादन र उत्पादकत्वमा नराम्रोसँग प्रभाव पार्ने बताएको छ । संघका अध्यक्ष अनुपम राठीका अनुसार अन्तःशुल्क, मूल्य अभिबृद्धि कर र भन्सार दरका कारण नेपाली वस्तुहरुको मूल्य भारतको भन्दा बढी रहँदै आएको छ । त्यसमा पनि पछिल्लो परिमार्जित जीएसटी प्रणाली लागु हुँदा भारतमा उत्पादन हुने वस्तु अझै सस्तो हुनेछ ।
अध्यक्ष राठीका अनुसार नेपाली उपभोक्ता सीमापार भारतका बजारमा अहिले पनि आकर्षित छन् । चोरी पैठारी पनि अत्याधिक छ । जीएसटी प्रणाली लागु भए पश्चात भारतका बजारमा अझै नेपाली उपभोक्ता बढ्ने छन भने खुल्ला सीमानाकाबाट चोरी पैठारी पनि बढ्नेछ । यदि यस्तो भएमा नेपालका सीमावर्ती बजारको अवस्था कमजोर हुनेछ । अध्यक्ष राठीका अनुसार टेक्स्ट टायल, स्टेसनरी, खाद्यन्न, फुटवेयरमा यसको असर बढी पर्नेछ ।
संघले नेपाल सरकारले तत्काललै बहुदरको कर प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिइएको छ । जसमा अत्यावश्यक वस्तुमा न्यून कर, मध्यम वर्गीय वस्तुमा मध्यम कर र विलासी वस्तुमा उच्च करको रणनीति बनाउन भनिएको छ । यसैगरी दैनिक उपभोग्य वस्तुहरुका अन्तःशुल्क र भन्सार महसुल घटाउनुपर्ने, स्वदेशी उद्योगहरुलाई परिरहेको नकारात्मक असरलाई कम गर्न करका दर परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ । यसैगरी संघले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव पूर्ण रुपमा अवलम्बन गर्नपर्ने सरकारसँग माग गरेको छ ।
भारतले राजस्व तथा सेवा कर (जीएसटी)का चारवटा स्ल्याबलाई घटाउँदै दुई तहमा झार्ने प्रस्ताव गरेको छ । भारतको ५६ औँ जीएसटी परिषदकोे बैठकले अत्यावश्यक वस्तु सस्तो बनाउने उद्देश्य राखेर यस्तो प्रस्ताव गरेको हो । यो अब आगामी सेक्टेम्बर २२ देखि लागुहुनेछ । जसको प्रभाव नेपाली बजारमा चाडपर्वकै बेला पर्ने उद्योगी व्यापारीको भनाई छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले अमेरिकाले भारतीय उत्पादनमा ५० प्रतिशत महसुल लगाउने निर्णय गरेपछि भारतले आन्तरिक खपत बढाउने उद्देश्य लिइको बताउनुभयो । भारतले राजस्ववृद्धि गर्नका लागि जीएसटीमा परिवर्तन गर्दा त्यसको प्रभाव नेपालमा पर्ने अध्यक्ष राठीको भनाई छ । (५, १८ र ४० प्रतिशत)
अध्यक्ष राठीका अनुसार ५, १२, १८ र २८ दरका ४ वटा स्ल्याबमध्ये ५ र १२ प्रतिशत मात्र कायम भएका छन् । त्योसँगै सुर्ती, पानमसला र महँगा गाडीका लागि भने भारत सरकारले उपकर (सेस) भन्दैे जिएसटी ४० प्रतिशत पु¥याएको छ छ ।
अध्यक्ष राठीका अनुसार जीएसटी १८ प्रतिशत लाग्दै आएका दैनिक उपभोग्य वस्तुको दर ५ प्रतिशतमा झारेको छ । यस्ता वस्तुमा मञ्जन, टेल्कम पाउडर, स्याम्पु लगायतका १७५ भन्दा बढी छन् । दैनिक उपभोगमा आउने कपडा, अन्य खाद्यवस्तु, एफएमसीजी लगायतका सामग्रीमा पनि ५ प्रतिशत नै कायम छ ।
यसैगरी हस्पिटालिटी र मनोरञ्जन क्षेत्रका होटल बुकिङ्ग र सिनेमा टिकमा पनि १२ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ । स्वास्थ्य सेवाअन्तर्गत १२ प्रतिशत लागिरहेका औषधि र चिकित्साका सामग्रीालाई ५ मा झारिने प्रस्ताव गरेको । यसले खुल्ला सीमानाकाबाट अब औषधी पनि चोरी पैठारी हुने सामाग्रीमा पर्ने दावी गरिएको छ ।