विराटनगर भाद्र २० ,
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ। विराटनगर किंग्सको सहआयोजनामा भदौ २१ देखि २३ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा ट्रफी टुर कार्यक्रम हुने भएको हो।
कार्यक्रमअनुसार भदौ २१ गते बिहान १० बजे ट्रफी विराटनगर विमानस्थलमा अवतरण गर्नेछ। दिउँसो १२ बजे सिद्धार्थ बैंक लिमिटेडमा ट्रफी प्रदर्शनी गरिनेछ। त्यसपछि दिउँसो १ बजेदेखि विराटनगरको रोडशेष चोकबाट बसपार्क, महेन्द्र चौक, बरगाछी, पिपल चोक, कञ्चनबारी, ठुलो मिल, तीनपैनी हुँदै विराटनगर बजार परिक्रमा गर्दै संसारिमाईस्थानमा प्रार्थना–पूजा कार्यक्रम हुनेछ।
त्यसपछि बेलुकी ५ बजे जैन भवनमा विशेष कन्सर्ट आयोजना हुनेछ, जसमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवरको प्रस्तुति रहनेछ। साथै, अन्य स्थानीय कलाकारले समेत प्रस्तुत गर्नेछन्।
एनपीएल ट्रफी टुरका क्रममा कोशी प्रदेशका विभिन्न शहरमा समेत ट्रफी प्रदर्शन र सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकहरूले जानकारी दिएका छन्।