सरकारले नेपालमा सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सामाजिक सञ्जाल निस्क्रिय पारेपछि त्यसको प्रतिवाद सुरु भएको छ । सरकारको निर्णय विरुद्ध अहिले सबैभन्दा धेरै जेन–जी पुस्ता रुष्ट बनेको छ । जसले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने बाटोका विषयमा सुझाव दिइरहेको छ । सरकारलाई सुझाउँदै सडकमा प्रतिवाद गर्ने तम्तयार गरिरहेको जेन–जी पुस्ता निर्णय सच्याउन जुन स्वरमा आग्रह गरिरहेको छ, त्यहि आक्रोशमा सडक थर्काउने मनस्थितिमा देखिएको छ ।
खासगरी अभिव्यक्ति स्वतन्त्रता, ई–गभर्नेन्स, इन्टरनेट स्वतन्त्रता आजको युगमा विश्वले स्वीकार गरिसकेको लोकतान्त्रिक मूल्य भित्र पर्दछ । नेपाल एकात्मक ढंगको शासन व्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिरहेको देश हो । त्यसैले इन्टरनेटसँग खेल्दै हुर्केर दैनिक जीवनशैली डिजिटलाइज गरेको जेन–जी पुस्ताले कुनैपनि वहानाको सरकारी अंकुश सहन बाध्य हुँदैन । जेन–जी पुस्ताले चाहिरहेको स्वतन्त्रतासँगै इन्टरनेटबाट खोजिरहेको सूचना र प्रविधिमा आधारित व्यवसायिक सक्षमतालाई सरकारी कदमले अवरोध गरिदिए उनीहरुको दैनिकी पनि अवरोध हुनेछ । जेन–जी पुस्तामा जन्मने अनि दैनिकी अवरोध गरिदिने कुरा नयाँ पुस्ताले स्वीकार गर्न चाहिरहेको छैन ।
त्यसैले सरकार विरुद्ध जेन–जी पुस्ता सडकमा उत्रने संभावना बढेको छ । सरकार सञ्चालकले सुशासन स्थापीत गर्न सिन्को भाँच्न तयार नहुँदा सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएर नागरिकलाई अध्याँरोमा राख्न खोजिरहेको देखिन्छ । त्यसमा पनि लोकतान्त्रिक अभ्यासमा गलत नजिर बसाउँदै देशका दुई ठुला पार्टी सम्मिलित सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन उद्दत देखिएको हो । यसले सामाजिक, राजनीतिक र आर्थिक संक्रमणको फेज भित्र इन्टरनेट सट डाउनले जेन–जी पुस्तामाथि अर्को संक्रमणकालिन मनोभाव सिर्जना गरिदिएको हो ।
प्रविधि, ग्लोबल सोच र आधुनिक जीवनशैलीमा हुर्केको जेन–जी पुस्ताका १२ वर्षदेखि २८ वर्षसम्मका युवा अध्ययन वा अध्ययनपछिको करिअर निर्माणमा छन् । धेरैले स्टार्टअप र डिजिटल करिअर रोजेका होलान् । प्रविधिसँगै हुर्किएर इन्टरबाट शिक्षा लिइरहेको पुस्ताले विश्वको डिजिटल दुनियाँसँगै सपना बुनिरहेको छ । च्याटजीपीटी, जेमिनी, कपीलट, मिडजर्नी, डल–ई जस्ता शक्तिशाली एआईसँग घुलमिल भइरहेको छ । यो पुस्ता, पढाई, काम, सिर्जना, अनुसन्धान, डिजाइन, मिडिया जहाँ भएपनि प्रविधिसँग हातेमालो गरिरहेको छ । तर, सरकार प्रविधिमैत्री जीवनशैलीमा रमाइरहेको पुस्तालाई बुझिरहेको छैन । कहिले टिकटक बन्द गरेर जिस्काउँछ त कहिले फेसबुकसहित सुचनामा भरपर्दो बनेका सामाजिक सञ्जालमाथि अंकुश लगाउने गर्दैछ । सरकारले जेन–जी पुस्ता बुझ्न सकेन भने सरकारलाई यो पुस्ताले बुझ्न बाध्य हुनुपर्छ भन्ने छैन । त्यसैले सरकारको अंकुश विरुद्ध जेन–जी पुस्ताको दवाव निर्णायक बनाउन जरुरी छ ।