इन्दु कुमारी साह
विराटनगर । जेन–जी आन्दोलनको प्रभावले सुनसान रहेको विराटनगरको जनजीवन सामान्यतर्फ फर्कदै छ । केही दिनयता सुनसान रहेको बजार खुल्न थालेको छ । महानगरपालिका भित्र लाग्ने साप्ताहिक हटियामा समेत लाग्न थालेका छन् ।
मंलवारको घटनाका कारण प्रभावित दैनिक जीवन सहज बन्न थालेको छ । विराटनगरका बिभिन्न क्षेत्रमा साप्ताहिक रूपमा लाग्ने हाटबजारहरू जसमा हरियो तरकारी, फलफूल, लत्ताकपडा, र अन्य उपभोग्य सामग्रीहरू किनबेच हुने गर्दथ्यो, पछिल्लो केही दिन यता रोकिएको थियो । तर अब शुक्रबारबाट पुनः ती हाटबजारहरू सञ्चालन हुने तयारीमा पुगेका हुन् ।
विराटनगरमा आन्दोलनको क्रममा भएका घटनाले गर्दा हरियो तरकारी र दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिएको थियो । व्यापार ठप्प हुँदा साना व्यापारी, किसान र उपभोक्ता सबैजसो प्रभावित भएका थिए । साथै प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा समेत घोषणा गरेको छ । रातको समयमा कफ्र्यू समेत घोषणा गर्दै आएको छ । तर साँझमा भने हाटबजार सामान्य खुल्ला रहने छ ।