इन्दु कुमारी साह
विराटनगर । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा मोरङ प्रहरीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सक्रियता बढाएको छ। नागरिक समाज तथा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गरेको हो।
साथै नियमित हुने कार्यलाई पनि निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी कोपिला चुडालका अनुसार भदौ २४ तेको आन्दोलनपछि प्रहरी बल अझै हौसलाका साथ ड्युटीमा खटिएको छ। आन्दोलनको समयमा देखिएका केही आपराधिक गतिविधिहरूको सम्बन्धमा अनुसन्धान तीव्र गतिमा भइरहेको उनले जानकारी दिइन्।
आन्दोलनको आवरणमा हुने आपराधिक क्रियाकलापप्रति हामी सजग छौं। यस्ता घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ र सम्बन्धित उजुरीहरू पनि दर्ता भइसकेका छन् डिएसपी चुडालले भनिन्। उनका अनुसार आन्दोलनसँग सम्बन्धित घटनाहरूमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने कार्यप्रति प्रहरी गम्भीर देखिएको छ। जिल्ला प्रहरी कार्यालयले नियमित गस्ती, निगरानी र समन्वयलाई सशक्त बनाउँदै स्थानीय समुदायसँगको सहकार्यलाई अझ मजबुत पार्ने बताएको छ ।
प्रहरीले विभिन्न सामाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा आएका सामाग्रीलाई आधार मानेर सरकारी तथा निजी संरचनामा आगजनीमा संलग्नहरुको पहिचान गरिरहेको छ । यसैगरी शहरका सिसी टिभी फुटेज समेत संकलन गर्ने काम गरिरहेको छ । प्रहरीलाई जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर विध्वंस मच्चाउनेहरुको पहिचानका लागि विभिन्न व्यक्तिहरुले समेत प्रमाणहरु जुटाउन सहयोग गरिरहेका छन् ।