विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो । आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बेहोर्नु परेको हो । त्यसपछि झापा, सुनसरी, उदयपुर र इलाम बढी क्षति हुने जिल्लामा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले संकलन गरेर सार्वजानिक क्षति विवरणमा ६३ संघीय कार्यालयमध्ये २१ वटामा क्षति पुगेको छ । त्यसैगरी ३९ वटा प्रदेश कार्यालयहरुमध्ये १४ वटामा क्षति भएको छ भने जिल्लाका १७ वटा स्थानीय तहमध्ये १० वटामा क्षति भएको छ । जिल्लाका १५९ वटा वडा कार्यालयहरुमध्ये ५८ वटामा क्षति पुगेको छ । सरकारी कार्यालयबाहेक अन्य निजी तथा संस्थागत संरचनाहरुमा पनि क्षति पुगेको छ । तथ्याङ्क अनुसार १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन, ४ वटा अन्य संघसंस्था र ८ वटा राजनीतिक पार्टीका कार्यालयहरुमा क्षति पुगेको छ । संस्थानतर्फ सञ्चयकोषको भवनमा क्षति भएको जनाइएको छ ।
यसैगरी, आगजनी र तोडफोडबाट सुरक्षा निकायका संरचनाहरु पनि प्रभावित भएका छन् । जनपद प्रहरीका १७ वटा पोस्ट तथा कार्यालय र सशस्त्र प्रहरीका ४ वटा पोस्टमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापामा मात्रै १०६ वटा भवनहरु आगजनीबाट ध्वस्त भएका छन् । झापामा स्थानीय तहको १२ वटा कार्यपालिका भवनमा आगजनी भएको र ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिएका छन् । त्यस्तै संघीय कार्यालयहरु १० वटा, ३ वटा प्रादेशिक कार्यालय, ३ वटा पार्टी कार्यालय र २२ वटा प्रहरीका भवनमा आगजनी तथा तोडफोड भएका छन । दमक र बिर्तामोडमा रहेका भाटभटेनीका दुईटा भवन पनि आगजनी भएका छन् ।
कोशी प्रदेश सरकारले पनि क्षतिको विवरण संकलन गरिरहेको बताएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार प्रदेशभरीमा ३ सयभन्दा बढी सवारीसाधनमा क्षति पुगेको अनुमान छ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि भदौ २४ मा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भयो । यद्यपि सोलुखुम्बुमा निजी त छाडौं, सरकारी सम्पत्तिमा समेत कहिँकतै कुनै आक्रमण भएको छैन । सुनसरीमा क्षतिको विवरण संकलन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको छ ।
खोटाङमा पनि सरकारी तथा निजी सम्पत्तिमा कहींकतै क्षति नभएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । ओखलढुंगा, धनकुटा, भोजपुर, पाँचथर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा सरकारी सम्पत्तिहरुमा कहिंकतै क्षति नभएको ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् । तेह्रथुमको आठराईमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको पुख्र्यौली घरमा आगजनी हुनु जिल्लामा भएको एक मात्र आगजनीको घटना हो ।
त्यस्तै संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड प्रयास भएको थियो । त्यस बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिएकी छन् ।
तोडफोड र आगजनी धेरै भएको पहाडी जिल्ला इलाम एक हो । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार भदौ २४ मा इलाममा सरकारी कार्यालय तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भएका छन् । तोडफोडबाट जिल्ला प्रशासन कार्यालयमा आंशिक क्षति भएको छ भने चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्रमा आगजनी भएको छ । बिब्ल्याँटे बजारको प्रहरी पोस्टमा पनि तोडफोड र आगजनी भएको छ । इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड हुँदा पाँच करोड रुपैयाँको क्षति अनुमान छ । कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड भएको छ । प्रशासन कार्यालयका अनुसार करदाता सेवा कार्यालयमा समेत क्षति भएको छ भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको छ । कार्यालयको एउटा गाडी तोडफोड भएको छ ।
माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड भएको छ । कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको छ । माईकै वडा १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामाग्री बाहिर निकालेर जलाइएको छ ।
माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी भएको छ । माई ४ को दानाबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाख रुपैयाँबराबरको सामग्री जलेर नष्ट भएको केन्द्रको अनुमान छ । इलाममा रोङ गाउँपालिका २ को वडा कार्यालयमा तोडफोड र कागजपत्रमा आगजनी भएको छ ।
ताप्लेजुङको फुङलिङ नगर कार्यालयमा तोडफोड र आगजनी हुँदा कांग्रेस, एमाले, माओवादी र रास्वपा पार्टी कार्यालयमा पनि तोडफोड भएको छ । २४ गते राति पाथिभरा मन्दिर नजिकैका तीन वटा मध्ये एउटा भवनमा आगजनी र दुईटा भवनमा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए । भित्री मधेशको जिल्ला उदयपुरमा त्रियुगाका पूर्व मेयर बलदेव चौधरी, अहिलेकी उपमेयर महेश्वरी राईको घरमा आगजनी भएको छ । कोशीकी उपसभामुख सिर्जना दनुवार र त्रियुगाका मेयर बसन्त बस्नेतको घरमा तोडफोड पनि भएको छ । यसबाहेक जिल्ला प्रशासनमा ढुंगामुढा गर्नेबाहेक अरु क्षति नभएको प्रजिअ प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।