विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरीमा रहेको भारतको पूर्णियामा विमानस्थल सञ्चालनमा आएको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल उद्घाटन गरे लगतै एयर इण्डिगोले उडान भरेको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाईसेवा सञ्चालनमा आएसँगै त्यसबाट फाइदा पुग्ने बताइएको छ । मंगलबारदेखि कोलकाता र अहमवादमा पूर्णिया विमानस्थलबाट व्यवसायिक उडान समेत सुरु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारु ४६ करोड लागतमा २ हजार ८०० मिटर लम्बाईको रनवे भएको विमानस्थल निर्माण भएको हो ।
विराटनगर व्यवसायीले विमानस्थल सञ्चालनसँगै प्रशस्त लाभ लिने अवसरहरु सिर्जना हुने बताउँदै आएका छन् । यद्यपी नेपालमा भएको पछिल्लो आन्दोलनले पर्यटक आगमनलाई असर पार्ने संभावना उतिकै देखिएको छ । ट्राभल्स एण्ड टुर एशोसिएन अन्तर्गतको सेवा दिदैं आएका नेपाली व्यवसायीदेखि होटलहरुमा यसको प्रत्यक्ष लाभ हुनेछ । तेस्रो र महत्वपूर्ण चाँहि विराटनगर विमानस्थलबाट पर्यतीय उडानका प्याकेज सञ्चालन गर्ने बाटो निजी क्षेत्रलाई खुल्ने बुझाई छ ।
झापा काँकडभिट्टाबाट २२ किलोमिटर पूर्वमा रहेको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलको लाभ काकडभिट्टा र पूर्वका जिल्लाले लिईरहेका छन् । विराटनगरबाट १६५ किलोमिटर दक्षिणमा रहेको विहारको दरभंगाको विमानस्थलको केहि लाभ विराटनगरले पनि लिईरहेको छ । तर, पूर्णियामा विमानस्थल सञ्चालनमा आउँदा नेपालीलाई भारत जान र भारतीयलाई नेपाल आउन अझै सहज हुने विश्वास छ । विराटनगरका लागि बागडोगरा वा दरभंगाको विकल्प पूर्णियाले दिनेछ अनुमान गरिएको छ ।
विराटनगरबाट बागडोगरा र दरभंगा पुग्न ४ घण्टा लाग्छ, पूर्णिया डेढ घण्टामा पुगिन्छ । पूर्णियाबाट भारतका दिल्ली, मुम्बई, बैंगलुरु र हैदरावादमा उडान हुने दावी गरिएको छ । माउन्टेन प्याकेज दिएर भारतबाट भित्रने पर्यटकलाई उडान सेवा प्रदान गर्ने बाटो खुल्ने अपेक्षा राखिएको छ ।