विराटनगर । जेनजी आन्दोलनका नाममा आगजनीमा परेको विराटनगर महानगरपालिकाको भवन परिसर सरसफाई सकिएको छ । महानगरपालिकाको सेवा पहिलाकै अवस्थामा फर्काउन जनप्रतिनिधि तथा कर्मचारीले रातदिन काम गरिरहेका छन् । सरसफाईसँगै महानगरपालिकाले अत्यावश्यक सेवालाई सुचारु गरिसकेको छ ।

आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोलीमार्फत अध्ययन समेत गराएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयका डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेसहितको विज्ञ प्राविधिक टोलीले आइतबार जलेको भवनको भित्री कोठासम्म पुगेर अवलोकन गरेका छन् । महानगरका इन्जिनियर समेत विज्ञ प्राविधिकसँग सहभागी भएका छन् ।

प्रारम्भिक अवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको टोलिले ठहर गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको महानगरको प्रशासनिक भवनलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्राविधिक टोलीमार्फत अवलोकन र परीक्षण गराइएको महानगरका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिएका छन् । भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा, बैठककोठा लगायतमा बढी क्षति पुगेको छ । महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार छेउको राजस्व महाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।