विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर आउने भएका छन् । अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन तथा गत भदौ २४ मा जलेका अर्थमन्त्रालय मातहतका कार्यालयको अनुगमनका लागि उनी विराटनगर आउने भएका हुन् ।
खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको ध्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्रदर्शनमा त्यस कार्यालयका सम्पूर्ण सामग्रीमा आगो लगाइएको थियो । आन्तरिक राजस्वको निरीक्षणपछि मन्त्री खनाल आइसिपीस्थित विराटनगर भन्सार पुग्नेछन् । त्यहाँ उनले उदघाटन भएर पनि डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको नेपाल–भारत कार्गो रेलवे यार्डको निरीक्षण गर्ने जानकारी दिइएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा भएका बेला २०८० जेठ १७ मा दुबै देशका प्रधानमन्त्रीले उक्त रेलवे यार्डको डिजिटल उदघाटन गरेका थिए । त्यसपछि नेपालका व्यवसायीले नेपालतर्फको रेल वे यार्डको भाडादर र अन्य खर्च महँगो भएको भन्दै आयातित वस्तु सीमापारिको यार्डमा अनलोड गरेर आयात गरिरहेका छन् ।
यसका कारण नेपालतर्फको रेल वे यार्ड प्रतिदिन कामनलाग्ने र बेवारिसे भइरहेको छ । मन्त्री खनालले विराटनगर भन्सारमा अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन गर्नेछन् । विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले देशका सबै मुख्य भन्सार कार्यालयमा यस्तो सफ्टवेयर इन्स्टल गरेर सञ्चालनमा ल्याउने विभागको कार्यक्रम रहेको जानकारी दिए ।
प्रमुख श्रेष्ठले सोही अनुरूप विराटनगरमा पाइलट कार्यक्रमका रूपमा यसको सञ्चालन गर्न लागिएको बताए । श्रेष्ठले हरेक छ महिनामा विभागले अद्यावधिक गर्ने सन्दर्भ मूल्यसूचीलाई क्रमशः निष्क्रिय बनाउँदै लैजाने र वास्तविक मूल्यांकन पद्धति अपनाउने उद्देश्यले यस्तो सफ्टवेयर राख्न खोजिएको स्पष्ट पारे ।
यस पद्धतिबाट वस्तुको मूल्यांकन छिटोछरितो, पारदर्शी र कम जोखिमपूर्ण हुने बताइएको छ । यसको प्रयोगले वस्तु मूल्यांकन र भन्सार जाँचपासका क्रममा हुने भ्रष्टाचार पनि नियन्त्रण हुने विश्वास विभागका अधिकारीले गरेका छन् ।
क्रमशः वस्तुको मूल्यांकनमा यस सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि समायोजन गरिने लक्ष्य रहेको श्रेष्ठले बताए । अर्थमन्त्री खनालले कोशी प्रदेशका मुख्य व्यावसायिक संघसंस्थाका प्रतिनिधिसित छलफल गर्ने कार्यक्रम पनि छ । त्यस्तै उनकै उपस्थितिमा राजस्व चुहावट समितिको पनि बैठक बस्ने कार्यक्रम छ ।