विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकार दुःखमा एकअर्काको सहकार्य र साझेदारीबाट हल गर्नुपर्ने बताएका छन् । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै उनले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
पाइलट प्रोजेक्टको रुपमा अनलाइन भ्यालुएसन विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको बताउँदै यसले व्यवसायिक विश्वसनिता हाँसिल हुने उनको दावी थियो । भन्सार जाँचपासमा हुनसक्ने संभावित त्रुटी अनलाइन भ्याल्युसन प्रणालीले हटाउने बताउँदै यसले व्यवसायिक वातावरणलाई सहजीकरण गर्न सहयोग पुग्ने उनले बताएका छन् ।
बारम्बार एउटै व्यवसायिले उस्तै त्रुटी गरेमा सिस्टममा देखिने भएकोले गलत नगर्न पनि उनको आग्रह थियो । नेपालमा पनि व्यवसायिलाई विश्वासको प्रमाणपत्र प्रदान गरिने बताउँदै यसका लागि दशैंपछि कार्यक्रम राखिएको बताए । आर्थिक गतिविधिको केन्द्र नै विराटनगर भएको बताउँदै उनले केन्द्रमै गलत नहुने आफूले अपेक्षा राखेको बताएका छन् । अर्थतन्त्रको गतिविधि विस्तार गर्न सरकारले सहजीकरण गर्ने बताउँदै, व्यवसायको लागत कम गर्ने पक्षमा आफू रहेको उनको भनाई थियो ।