विराटनगर । दशैंतिहार जस्ता ठूला पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज बनाउन विराटनगरको बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षा, जानकारी आदान–प्रदान र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले यात्रु सहायाता कक्षको बुधबार विहान उद्घाटन गरे ।

यात्रु सहयाता कक्षको लागि मोरङ ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र वडा नम्बर ११ को सहकार्यमा कक्ष सञ्चालन ल्याइएको हो ।
सहयाता कक्षमार्फत यात्रुहरुलाई आवश्यक पर्ने गन्तव्यसम्बन्धी जानकारी, टिकटसम्बन्धी समस्या समाधान, हराएको सामान फिर्ता, ठगी नियन्त्रण तथा आकस्मिक स्वास्थ्यका लागि सहायता कक्षले ठुलो सहयोग पुग्ने मोरङ प्रहरी प्रमुख कबित कट्वालले बताए ।

यसैगरी, भीडभाड हुने पर्वको समयमा कालोबजारी नियन्त्रण र यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा असुल्न नदिने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । कार्यक्रममा विराटनगर ११ वडा अध्यक्ष तिथेन्द्र न्यौपाने, वडा प्रहरी कार्यालयका डिएसपी अनमोल खड्का यातायात व्यावसायी संघका पदाधिकारी लगायत सवारी धनी र तिनका चालकहरुको उपस्थिती रहेको थियो ।
