विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो।
संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले उक्त क्लिनिक सञ्चालन ल्याएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रुणा झाले जानकारी दिईन् । उनले क्लिनिकमा जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको लागि छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने समन्वयात्मक प्रणाली भएको उनले बताईन् ।
परिचयपत्र प्राप्त गरेका घाइते अस्पतालमा आएपछि उनीहरूलाई जेनजी क्लिनिकमार्फत सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । क्लिनिक सञ्चालनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा महेन्द्रप्रसाद महतो सहित मेडिसिन विभाग प्रमुख डा सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा क्षितिज गिरी, ओपिडी इञ्चार्ज नविता शर्मा र सिअहेव अधिकृत (सम्पर्क व्यक्ति) कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा रहेका छन् ।
उक्त समितिमार्फत अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन तथा आवश्यक सुविधा उपलब्ध गराउने काम गरिने अस्पतालले जनाएको छ।