विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरोप लगाएका छन् ।
उद्योग संगठन मोरङका कार्यवहाक अध्यक्ष भोलेश्वर दुलालले आन्दोलनका क्रममा निजी क्षेत्रको लगानी लक्षित आक्रमणमा संलग्नलाई कारवाही नगर्ने गृहमन्त्रालयको निर्देशनले दण्डहिनतालाई पश्रय दिन खोजेको आरोप लगाएका छन् । उनले एक विज्ञप्ती प्रकाशित गर्दै आन्दोलनका क्रममा राज्य सञ्चालकसँगको असन्तुष्टि निजी क्षेत्रले गरेको लगानीमा पूर्वाग्रहपूर्ण तवरले पोखिएकोप्रति आपत्ति प्रकट गरेका छन् । उनले गलत नियत राखेर आन्दोलनका नाममा निजी क्षेत्रको लगानीमाथि गरिएको आक्रमणमा संलग्नलाई कारवाही गर्न माग समेत गरेका छन् ।
यसैगरी सरकारले विदेश निर्यात हुने वस्तु तथा सेवामा दिदैं आएको निर्यात अनुदान कटौती गरेको विरोधमा पूर्वका उद्योगीले उत्पादनसँगै रोजगारी गुम्नसक्ने चेतावनी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागले २०८१÷०८२ लागि पाउनुपर्ने निर्यात अनुदानको स्वघोषणा पेस नहुने सूचना जारी गरेपछि त्यसको विरोधमा पूर्वका उद्योगीहरु खुलेका हुन् ।
सरकारले असोज २३ गतेदेखि निर्यात अनुदान पेस गर्न नसकिने भन्दै सूचना जारी गरेको थियो । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योगीले गतवर्ष गरेको कारोबारको स्वघोषणा पेस गरेर रकम पाउने समयमा सरकारले यस्तो निर्णय गर्दा त्यसले हतोत्साहित बनाएको बताएका छन् । अध्यक्ष राठीले नेपाली उद्योगी–व्यवसायीले भोग्नु परेको कठिन सयमलाई सरकारले साथ दिनुपर्ने माग गरेका छन् । वस्तु तथा सेवा निर्यात गर्दा सरकारले दिदैं आएको अनुदान नपाउने अवस्थाले आगामी दिन उत्पादन कटौती हुने र त्यसले रोजगारीमा प्रत्यक्ष असर पार्ने राठीको भनाई छ । सरकारले अनुदान कटौती गर्दा त्यसले पार्ने असरको मूल्यांकन नगरेको उद्योगीहरुको बुझाई छ ।
उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार शारडाले मूल्य अभिबृद्धि प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने बेलामा सरकारले गरेको निर्णयले उद्योगीलाई कच्चा आयात रोक्न प्रोत्साहन गरेको दावी गरेका छन् । वस्तु निर्यातका लागि कच्चा आयात गर्नुपर्ने उद्योगीले पाउने अनुदान कटौती हुँदा किन उत्पादन गर्ने भन्ने सोचमा पु¥याएको उनले बताएका छन् ।