प्रेम देवान
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् ।

चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिरहेका छन् तर प्रहरीले भने अहिलेसम्म पुष्टी गरेको छैन । चौधरीको असोज २५ गते शनिबार साँझ ५ बजेको समयमा कर्मनिय टोल नहरमा सिटी सफारी चलाउदै गरेको अवस्थामा अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या किन र कसले गर्यो भन्ने अझै पनि रहस्यमय नै रहेका कारण सो क्षेत्रमा त्रासपूर्ण देखिएको हो ।

सुनसरी मोरङ सिचाई आयोजनाबाट बग्ने नहरमा उनको शव ढलेको ठाँउमा अझै पनि रगतहरु लतपतिएको अवस्थामा छ । अहिले सो ठाँउमा प्रदेश प्रहरी, सुनसरी र मोरङका धेरै सादा पोसाकका प्रहरीहरुलाई अनुसन्धानका लागि खटाइएको छ । घटनापछि स्थलगत रुपमा आवर विराटनगरको टिम सो क्षेत्रमा रिर्पोटिङ्को लागि पुगेर स्थानियवासीहरुसँग घटनाबारे बुझ्ने प्रयास गरेका थियौं ।

घटनाको बारेमा प्रत्यक्ष रुपमा देखेका एक स्थानियवासीसँग हामीले कुराकानी पनि गरेका छौँ । उनले भनेका छन्, मोटरसाईकलमा आएका ३ जनाले उनको हत्या गरेको दावी गरेका छन् । घटना घटाइसकेपछि आफूले के भएको हो ? भनेर सोध्दा उनीहरुले गाली गरेको सुनाए ।
घटनाका एक मात्र प्रत्यक्षदर्शी, छिमेकी नरेश चौधरीका अनुसार, उनले दिनेश र ती तीन व्यक्तिबीच चर्को स्वरमा भनाभन भइरहेको देखेका थिए । केही अनिष्टको आशंकामा उनी नजिक पुगेर सोधपुछ गर्न खोज्दा, एक आक्रमणकारीले उनलाई झम्टिँदै धम्की दियो, ‘तँ यहाँबाट खुरुक्क गइहाल, नत्र तँलाई पनि यहीँ सिध्याइदिन्छौं।’ भनेपछि उनी त्यहाँबाट भागेर दिनेशको घरमा खबर पुर्याएका थिए ।

हामीसँग बोल्ने यी व्यक्ति मृतक दिनेश चौधरीको घरदेखी ४ घर पश्चिमका छिमेकी हुन् । प्रहरीले यो भनाईको आधारमा पनि अनुसन्धानलाई अगाडी बढाउनुपर्ने देखिन्छ । यता सुनसरी प्रहरी प्रमुख केशव कुमार थेवेका अनुसार, प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्रता दिएको छ । उनको बायाँ छातीमा गहिरो प्वाल देखिएको छ, जसले गोली प्रहार वा धारिलो हतियार प्रयोग भएको हुनसक्ने संकेत गर्छ । प्रहरीले यो आक्रमण योजनाबद्ध थियो वा व्यक्तिगत रिसइबीको परिणाम हो भन्नेबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। दिनेशको पोष्र्टमार्टमा पछि आईतबार धार्मिक परमपरा अन्तर्गत अन्तिम दाहसस्कार गरिएको छ ।
