सोनु साह
विराटनगर । नेपालीहरूको दोस्रो महान् चाड तिहार, दिपावली र छठ पर्व नजिकिँदै जाँदा विराटनगरको हाटदेखि बजारसम्ममा किनबेच गर्नेहरूको भीड बढेको छ । तिहारका लागि आवश्यक पूजासामग्री, कपडा, श्रृङ्गारका सामान, र टीकाका रंग खरिद गर्न आउने ग्राहकहरूको चाप दैनिक रूपमा बढ्दै गएको हो ।
विराटनगरका काली मन्दिर वरपर र पुरानो गुदरी क्षेत्रमा तिहार सम्बन्धी सामग्री किनबेच गर्नेहरूको भीड देखिन्छ । गुदरीका व्यापारी राजु कुमार साहका अनुसार तिहारको व्यापार सुरु भइसकेको छ । “यो हप्ताभर बजार निकै व्यस्त रहन्छ,” उनले भने, “अन्तिम सोमबार तिहारको बजार हुने भएकाले त्यसदिन व्यापार अझ राम्रो हुने अपेक्षा छ।”

व्यापारी अशोक चौधरीले पनि ग्राहकको भीड बढ्दै गएको बताए । उनका अनुसार, “सुपथ मूल्यमा ग्राहकले चाहेका सामग्री उपलब्ध गराउँदा बिक्री राम्रो भइरहेको छ।” उनले अझै केही दिनमा व्यापार राम्रो हुने विश्वास व्यक्त गरे । उनले तिहार लगतै छैठका लागि विशेष बजारले झन् चहलपहल बढाउने बताए । तर कपडा पसल सञ्चालक रुपा क्षेत्रीले भने यसपालि कपडाको व्यापार अपेक्षा अनुसार हुन नसकेको बताइन् । “तिहारको बेला पनि ग्राहक अनलाइनबाट खरिद गर्न रुचाउँछन्, जसले गर्दा पसलमा आउनेको संख्या घटेको छ,” उनले भनिन् ।

यसैबीच, तिहार र छठमा प्रयोग हुने माटाका पाला, कलश, धुपौरो, दीयोलगायत सामग्रीको माग पनि बढेको छ । कुम्हार समुदायका व्यापारीहरू अहिले लगातार माटाका सामग्री बनाउन र बिक्री गर्न व्यस्त छन् । बजारमा प्लास्टिक र बिजुलीका बत्तीहरूको प्रयोग बढेपनि माटाका परम्परागत वस्तुको उपयोगिता यी पर्वहरूमा अझै कायम रहेको उनीहरूको भनाइ छ । तर पहिलाको तुलनामा माटाका सामग्रीको माग केही घट्दो क्रममा रहेको कुम्हारहरूले बताएका छन् । आधुनिक सामग्रीको प्रयोग बढे पनि तिहार र छठका अवसरमा परम्परागत वस्तुको माग एकदमै कम भएको छैन । स्थानीय व्यापारीहरूका अनुसार तिहार र छठ पर्व नजिकिँदै जाँदा बजारमा दैनिक कारोबार बढ्दै गएको छ र यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ ।