विराटनगर । कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको प्रभाव बढी पर्ने भएपछि जोखिमसँग लड्न प्रदेश सरकारले डिजिटल म्याप तयार गरेर सचेतनाको काम सुरु गरेको छ । नेपालमा मोन्था चक्रवातले असर गर्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जसमा पनि कोशी प्रदेश र मधेश बढी प्रभावित हुने भनिएको छ । अझै कोशी प्रदेशमा उच्च उच्च सतर्कता अपनाउनुपर्ने भनिएको छ ।
जल तथा मौसम विज्ञान विभागले कात्तिक १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म यसको प्रभाव रहने अनुमान गरेको छ । कोशी, मधेस र बागमती प्रदेशमा असर देखिने भएका कारण सावधानी अपनाउन भनिएको छ ।
कोशी प्रदेश सरकारले विपद् प्रतिकार्यका लागि जिल्लास्थित संयन्त्रहरू र सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले डिजिटल म्यापमार्फत कुन–कुन क्षेत्र जोखिममा छन् भन्ने किटान गरेर स्थानीय तहका वडासम्म र वडाबाट घरसम्म सचेतनाको काम भइरहेको स्पष्ट पारेका छन् ।
‘चक्रवातबारे केन्द्रबाट आएको सूचना अध्ययन गर्ने विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिसँग हुने भएकोले बारम्बार समन्वय गर्ने कार्य भइरहेको मन्त्री भण्डारीले बताएका छन् । गत असोज १८ र १९ गते आएको अविरल वर्षापछिको बाढी र पहिरोले सबैभन्दा बढी इलाम जिल्लालाई प्रभावित बनाएको थियो । त्यहि भएर स्थानीय प्रशासनले भोलि साँझ ६ बजदेखि शुक्रबार बिहान ७ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइसकेको छ ।
प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रहरूको पहिचान र रेखाङकन समेत गरिसकेको दावी गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातका कारण कोशी र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । त्यसैगरी, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन भनिएको छ ।