विराटनगर कार्तिक १३ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान आज बिहान विराटनगरमै डाइभर्ट भएको छ ।
विराटनगर विमानस्थल प्रमुख सुभास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विराटनगरबाट काठमाडौंका लागि उडान भएको श्री एयरलाइन्सको विमान इन–रुट वेदर बिग्रिएको कारण फर्कन बाध्य भएको हो । अहिले काठमाडौंको आकाशमा दृश्यता न्यून छ, जसका कारण आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडानहरू प्रभावित भएका छन् ।”
उनका अनुसार विराटनगर विमानस्थलमा उडानका लागि अवस्था सामान्य भए पनि काठमाडौंको खराब मौसमका कारण समस्या उत्पन्न भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा चक्रवात र वायु प्रणालीको असर देखिएको छ, जसले हवाई आवागमनमा असर पारिरहेको छ ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तयार भएका अन्य विमानहरू पनि आकाशमै होल्ड हुनुपरेको छ । यात्रुहरूलाई मौसम सामान्य भएपछि मात्रै उडान सुचारु हुने जानकारी दिइएको छ ।