विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्लेका मेयर कोइराला पछिल्ला दिनमा अनौपचारिक रुपमा चिया भेटघाटमा व्यस्त भएका हुन् ।
उनी विराटनगरको मेयर निर्वाचित हुँदा नागरिकले राखेको आसा जे हो, अहिले पनि त्यो सत्य नै छ भन्ने धेरैलाई विश्वास छ । ‘काम जति होस् तर भ्रष्टचार नहोस्’ भन्ने सोचले नागरिकले उनीमाथि भरोसा राखेका थिए । त्यो सत्य चाँहि अहिलेसम्म टिकिरहेको नागरिक विश्वासमा छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा कोइराला विदेशमा थिए । उनी विदेशमा हुँदा उपप्रमुखले यहाँको संकट व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेकी थिइन् । कोइराला फर्केपछि भने उनको दैनिकी महानगरपालिका पुग्ने र त्यहाँको संरचना मर्मत गरेको हेर्ने अनि फर्कने । तर, उनी दैनिक दिउँसो महानगरपालिकामा पुग्ने गर्दछन् ।
बिहानै चिया पसल धाउन थाल्नुभएछ ? आइतबार कार्यकक्षमा रहेका मेयर कोइरालासँग प्रश्न गर्दा भने–काँग्रेसको मोरङ सभापतिको तयारी गर्दैछु । अब त गर्नुपरो नी । प्रतिप्रश्न गर्दै कोइरालाले भने–तिमी भन त, नगरौं ? अनि उनले तुरुन्तै थपे–मेयर भएर आएपछि पहिलो पटक महानगरको दैनिक काम रोकिएको छ । जेनजी आन्दोलनले धेरै कुरा ठप्प पारेको तिमीले पनि देखेकै छौं ।
कोइरालाले त्यसपछि जेनजी आन्दोलनले सुशासनको मुद्दा उठाइरहँदा विराटनगर महानगरपालिकाप्रति चाँहि नागरिकले के भनिरहेका छन् ? भन्ने बुझ्न पनि चिया पसल पुग्ने गरेको सुनाए । यसैक्रममा कोइरालाले भने–एकजना बहिनीले भ्रष्टचार भएको छ ? भनेर भनिन्, मैले प्रमाण मागेपछि उनी चुप लागिन् । उनले यो सन्दर्भ कोट्याउँदै भने–मैले भ्रष्टचार गरेको प्रमाण दिदाँ मात्रै पनि पुग्छ ।
दैनिक बिहान मर्निङवाक निस्केर चिया पीउने र गफिने मेलो समाउन थालेका कोइराला नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा सभापतिका उमेदवार हुन् । उनी त्यसकै तयारीमा लागिरहेको सुनाउँछन् । उनी पछिल्लो समय दशैं, तिहार र छैठमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा देखिए । विराटनगरमा छैठ घाटका लागि नहर सफा गर्ने प्रचलन पहिलादेखि नै थियो । तर, मेयर कोइरालाले भने दशैं र तिहारबीचको समयमा सुनसरी–मोरङ सिंचाई आयोजनामार्फत नहरको सफा गराउन थालेका हुन् । किनकी वर्षातपछि थुप्रिएको फोहोर दशैं र तिहारको बीचमा झिक्दा त्यसले असारसम्म नहरलाई सफा रहन सहयोग गर्ने बुझाई छ । गतवर्ष त हिउँदमा समेत आवश्यकता हेरेर नहर सफा गर्न लगाइएको थियो ।
छैठपछि मेयर कोइराला विराटनगर वडा नम्बर ६ का स्थानीय र अग्रजहरूसँग भेटघाट तथा छलफल गर्दै चिया पीएको तस्वीर उनको सचिवालयले सार्वजानिक गरेको छ । विराटनगर–१२ स्थित पञ्चमुखी चोकमा समाजका विभिन्न क्षेत्रका अग्रजहरुसँग भेटघाट तथा छलफल गरेको तस्वीर पनि सार्वजानिक गरिएको थियो । जेनजी आन्दोलनपछि नागरिकसँग नजिक भएर उनले आफैंले पनि केहि कुरा बुझ्न चाहेको देखिन्छ । आन्दोलनका क्रममा संरचना ध्वस्त भयो, अहिले मेयर र प्रमुख प्रशासकिय अधिकृतले काम गर्ने ठाउँ छैन, अन्य प्रशासनिक कामको मेसो पक्रिन सकिरहेको देखिदैन, घरनक्साका लागि आवश्यक कागजात संकलन गर्न सकिरहेको छैन । तर, मेयर कोइरालाले दिनभर महानगरपालिकामा अनि बिहान चिया पसलमा दैनिकी बिताइरहेका छन् । उनी सुरुका दिनमा जस्तो निर्धक्क देखिन्थे, अहिले पनि निर्धक्क नै देखिन्छन् । कोइरालाले बाँकी रहेको अवधी अहिलेसम्म जुन रफ्तार र इमान्दारपूर्वक बढ्यो त्यहि रफ्तार र इमान्दारपूर्वक मेयरको रुपमा बिताउने सुनाए । आफ्नो कार्यकाल सुरु गर्दा सार्वजानिक गरिएको श्वेतपत्र र अहिलेको अवस्था अध्ययन गरेर मात्रै आलोचना गर्न सबैसँग अनुरोध गरेका छन् । स्रोतको चापकाबीच महानगरपालिकाले गरेका काम, बेरुजु फस्र्यौटमा लिएको पहल, राजस्व सुधारमा निर्वाह गरेको भूमिकालाई सबैले अध्ययन गर्नुपर्ने उनको भनाई छ ।