सोनु साह
विराटनगर । विराटनगर–७ स्थित परम विश्रान्तिघाट जाने सडक अत्यन्तै जीर्ण बनेको छ । दैनिक विशेष कारणवश सवारीहरु आवत–जावत गर्नुपर्ने सडकमा खाल्डो बढ्दै गएर पोखरी बनेको हो । पानी परेपछि सडकको उक्त खाल्डो भरियाँ माछा पालनका लागि खनिएको पोखरी जस्तो देखिन्छ । उक्त सडकमा सर्वसाधारणलाई हिँडडुल गर्न समेत कठिनाइ भएको गुनासो गरेका छन् ।
स्थानीय श्यामसुन्दर मानन्धरका अनुसार विगत वर्षदेखि बाटो बिग्रँदै गएको हो । तर, पनि कसैले चासो भने दिदैनन् । मानन्धरले स्थानीय तहले चाँहदा तत्काल बनाउन सक्ने भएपनि किन बनाएको छैन ? भन्ने अनुमान गर्न नसकेको बताए । “हरेक वर्ष बाटो यस्तै रहन्छ, वर्षा लागेपछि खाल्डोमा पानी जमेर हिँड्नै नसकिने हुन्छ,” मानन्धरले भने ।
खाल्डोमा पानी जम्मा हुँदा सवारीसाधन चलाउन समेत कठिनाइ हुने र दुर्घटनाको जोखिम बढेको स्थानीय सिटी सफारी चालक सुरेन्द्र साह बताउँछन् । उनका अनुसार धेरैपटक खाल्डोका कारण गाडी पल्टने घटना समेत घटिसकेको छ । “साना सुधारको काम पनि नगरी जनप्रतिनिधिले पन्छिने गर्छन्,” उनले भने । मृत्युपछि अन्तेष्टका लागि विराटनगरवासी परम विश्रान्तीघाट जान्छन् । तर, सडकको स्थिति नाजुक छ । “बाटो यति बिग्रिएको छ कि मालामी लैजान पनि ठूलो समस्या पर्छ,” साहले भने–देखेर पनि यति काम गर्नुपर्ने तर गरिदैन ।
स्थानीयहरूको भनाइमा, बाटो तत्काल मर्मत गर्न दुईदेखि तीन ट्र्याक्टर गिट्टी हाल्दा मात्रै पनि हुन्छ । तर, पनि यति काम पनि नगरिएको हो । तर, विश्रान्तीघाट जाने यो सडकमा राठी ग्रुपको उद्योग छ । जसले स्वीच, बल्भ, पम्पदेखि धेरै कुराहरु उत्पादन गर्दछ । यहि फ्याक्ट्री अगाडी मात्रै सडक भत्केको छ । त्यसमा पनि गेट अगाडी । यसो हेर्दा उद्योगमा मालवस्तु लिएर आउने ह्याभ्बी लोडेड सवारी गेटबाट बाहिर र भित्र गर्दा त्यसको असरले भत्केको जस्तो देखिन्छ । किनकी यो उद्योगको गेट आसपास बाहेकको सडक भने राम्रै छ । त्यहिंनेर सडक बिग्रदा पनि उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व समेत भुलेको देखिन्छ ।




