विराटनगर कार्तिक १९ , विराटनगर जेसीजले “जेसिज सप्ताह–२०२५” को अवसरमा बिराट बहिरा माध्यमिक विद्यालयमा “Art Beyond Words” नामक चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
मुख्य अतिथि तथा बिराट मेडिकल टिचिङ हस्पिटलकी प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले विद्यालयमा अध्ययनरत सम्पूर्ण सुन्ने र बोल्ने अपांगता भएका छात्र–छात्रा, शिक्षक–शिक्षिका, कर्मचारी तथा उनीहरूका परिवारका लागि बिराट नर्सिङ होम र बिराट मेडिकल टिचिङ हस्पिटलमा उपलब्ध हुने ओपीडी सेवा निशुल्क प्रदान गर्ने घोषणा गर्नुभयो। साथै, अन्य स्वास्थ्य परीक्षणमा विशेष प्राथमिकता र सहुलियत दिने प्रतिवद्धता पनि गर्नुभयो।
डा. कार्कीले आफ्नो फ्याक्ट्रीमा उत्पादित सेनेटरी प्याड विद्यालयका सम्पूर्ण छात्राहरूलाई आजीवन निशुल्क उपलब्ध गराउने घोषणा गर्दै विद्यालय परिसरमै सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने योजना पनि सार्वजनिक गर्नुभयो।
चित्रकला प्रतियोगिताको निर्णायकको जिम्मेवारी कलाकार देवेश प्रधानले वहन गर्नुभएको थियो। बिजेताहरुमा प्रथम: आयुषा खाँ (कक्षा ५), द्वितीय: फुर्बु रिनजिन शेर्पा (कक्षा ११), तेस्रो: सुरज महुली (कक्षा २) रहेका थिए ।
विजेता विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख संयोजक जेसी कबिराज दाहालले प्रतियोगिताबारे जानकारी दिँदै विद्यालय परिवार, निर्णायक, सहभागी विद्यार्थी र सहयोगी हातहरू प्रति आभार व्यक्त गर्नुभयो।
अन्त्यमा, कार्यक्रम संयोजक जेसी आकृति रानी फुयलले कार्यक्रममा साथ, सहयोग र माया प्रकट गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्नुभयो।