सोनु साह
विराटनगर । विराटनगरको मुख्य व्यापारिक मार्ग मानिने तीनपैनीदेखि पुष्पलाल चौकसम्मको सडक अहिले खाल्डोले भरिएको छ । सडकका ठाउँ–ठाउँमा खाल्डा परेकाले सवारीसाधन गुडाउन कठिनाइका साथै दुर्घटनाको जोखिम पनि उच्च भएको हो ।


दैनिक सयौं साना–ठूला सवारीसाधन गुड्ने यो सडक जीर्ण बन्दै गएको छ । सडक भत्केर जीर्ण हुँदा समेत विराटनगर महानगरपालिकाले मर्मत–सम्भार नगरेको स्थानीय बताउँछन् । स्थानीयले सामान्य भत्कन थालेको सडक मर्मत नगरी खाल्डो परेर जीर्ण हुँदासम्म पर्खनुलाई महानगरपालिकाको गलत नियत रहेको आरोप समेत लगाउने गरेका छन् । स्थानीयवासी तोया ढकालले खाल्डोका कारण साना गाडीहरू पटक–पटक दुर्घटनामा पर्ने र सडकमा उड्ने धुलोका कारण स्थानीयको दैनिकी नै कष्टकर बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सिटी सफारी चालक राज कुमारका अनुसार सडकमा रहेका गहिरा खाल्डाले गर्दा गाडी चलाउन मुस्किल हुने र बारम्बार मर्मत गर्नुपर्ने अवस्था आएको छ । “कयौं ठाउँमा सडक यति बिग्रिएको छ कि गाडी पल्टिने डर हुन्छ,” उनले भने । त्यस्तै स्थानीय तथा विद्यार्थी सफल थापा र मनिष घतानेले खाल्डो पुरिदिन र जेब्राक्रस पुनःनिर्माण गर्न माग गर्दै वडा नम्बर ३ कार्यालयमा निवेदन समेत दिएका छन् । उनीहरूले दैनिक विद्यालय जाने क्रममा सडकको खराब अवस्थाले निकै समस्या भोग्नु परेको गुनासो गरेका हुन् ।

उक्त सडक एडिबी परियोजनाअन्तर्गत निर्माण भएको सडक मर्मत तथा खाल्डो पुर्ने जिम्मेवारी विराटनगर महानगरपालिकाकै रहेको शहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिए । उनका अनुसार खाल्डो मर्मतका लागि टेन्डर खोलेर सम्झौता भइसकेको र काम क्रमशः अघि बढिरहेको छ ।

“केही ठाउँमा मर्मत कार्य सम्पन्न भइसकेको छ, बाँकी स्थानमा काम जारी छ,” प्रमुख थापाले भने, “दुईदेखि तीन महिनाभित्र सम्पूर्ण मर्मत कार्य सम्पन्न हुनेछ ।” स्थानीयले भने तत्काल खाल्डो पुरेर अस्थायी रुपमा भए पनि सडक प्रयोग सहज बनाउन महानगरसँग माग गरेका छन् ।
